– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै हालसम्म १ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बैंकहरुलाई वितरण गरेको छ। 

राष्ट्र बैंकले १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा उक्त रकम पठाएको हो। ‘आजसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब ६० करोड बरारबको नयाँ नोट केन्दीय बैंकबाट लगेका छन्’, राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले भने।

बाँकी संस्थाहरुले पनि नयाँ नोट लग्ने क्रम जारी रहेको नेपालको भनाइ छ। नेपालले उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि पर्सी बुुधबारबाट नयाँ नोट साट्न सक्ने जानकारी दिए। उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने व्यवस्था मिलाइएको छ। 

सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। हाल वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट केन्द्रीय बैंकले दिइरहेको छ। 

राष्ट्र बैंकले यी संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने नेपाल बताउँछन्। राष्ट्र बैंकले यस वर्ष १० अर्ब रुपैयाँ नयाँ नोट बजारमा जान सक्ने अनुुमान गरेको छ। 

राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्। यद्यपि त्यसभन्दा पनि बढी रकमको नयाँ नोट आवश्यक परेमा पनि दिइनेछ तर आवश्यक पर्ने ग्राहकले एकैदिन नभएर अर्को दिन सटही गर्न सक्ने व्यवस्था गरिएको छ। 

बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने नेपाल बताउँछन्।