काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो । 

निर्जीवन बिमा कम्पनी  र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत कोरोना सम्बन्धी बिमालेख जारी गर्नुपर्ने व्यवस्था भएसँगै यो प्रडक्टको विषयमा सर्वत्र चासो देखिएको छ । 

बिमा समितिले रु. १ लाख र ५० हजारका दुईखालका प्रडक्ट डिजाइन गरी सोहीअनुसारको बिमालेख जारी गर्न सकिने व्यवस्था गरिदिएको छ । 

रु. १ लाखको बिमालेख खरीद गर्न चाहनेले प्रतिव्यक्ति रु. १००० बिमाशुल्क तिर्नुपर्ने हुन्छ । तर, परिवारका सबै सदस्यको एकैपटक रु. १ लाख दरको बिमा गराउन चाहनेले प्रतिव्यक्ति रु. ६०० तिरे पुग्ने व्यवस्था गरिएको छ । 

समितिले रु. ५० हजारको बिमालेखका लागि भने एक व्यक्तिको हकमा बिमाशुल्कको रुपमा रु. ५०० र सबै सदस्यको एकैपटक गर्दा प्रति व्यक्ति रु. ३०० बिमाशुल्क कायम गरेको छ । 

यसको अर्थ प्रति सदस्य रु. ३०० खर्च गर्दा कोरोना भाइरस संक्रमणको बेला रु. ५० हजार र रु. ६०० खर्च गर्दा रु. १ लाख राहात पाइने निकै सुलभ र आकर्षक प्याकेज बिमा समितिले ल्याएको देखिन्छ । तर, यो बिमा प्रडक्टको विषयलाई गाउँ–गाउँसम्म बुझाउन नसक्दा अपेक्षित आकर्षण भने देखिएको छैन । 

कतिपय निजी क्षेत्रका व्यक्तिहरुले सरकारले नै कोरोना भाइरस संक्रमितको औषधि उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको अवस्थामा यहीसँग सम्बन्धित बिमालेख किन चाहियो ? भनी प्रश्न गरेका छन् । 

बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले भने कोरोना भाइरससँग सम्बन्धित यो बिमालेखको विषयमा त्यसरी भ्रम नपाल्न आग्रह गरेका छन् । उनकाअनुसार यो बिमालेखमार्फत उपचार वा औषधि खर्च व्यहोर्ने वा कसैको मृत्युपछि त्यो राहात दिने भन्ने कुरा गरिएको होइन । ‘यो प्रडक्ट सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्छ भन्ने उद्देश्यले ल्याएका हौ ।’ चापागाईले बिजशालासँग भने–‘कोरोना संक्रमितहरुको कुरुवाको खर्च होला, यातायातको खर्च होला, पौष्टिक आहारमा खर्च होला, यी सबै दायीत्व सिर्जना हुँदा बिमितलाई राहात होस् भनेर यो प्याकेज ल्याइएको हो ।’ 

कुनै पनि महामारीको बिमा वा पुनरबिमा हुने कहीँ कतै व्यवस्था नभएको उल्लेख गर्दै चापागाईले कोही कसैले यस्तो बिमालेख खरीद गरेको १५ दिनपछि उसमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा यो राहात सम्बन्धित व्यक्तिले सोझै पाउनेछ । ‘पीसीआर रिपोर्ट पोजिटिभ देखिनेबित्तिकै यसका लागि अरु केही कागजात चाहिन्न । बिमालेख खरीद गरेको १५ दिनपछि पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि तुरुन्तै बिमा कम्पनीले बिमितको खातामा पैसा जम्मा गर्नुपर्छ ।’ अध्यक्ष चापागाईले भने–‘बिमा कम्पनी र पुनर्बिमा कम्पनीले बनाएका पुलमार्फत यो राहातको व्यवस्थापन गरिनेछ । र, यसको हामीले क्लोज मनिटरिङ गर्छौ ।’ 

महामारीको ठेगाना वा यसको प्रभावको कुनै सीमा नहुने भएकोले आफूहरुले यो प्रडक्टको विषयमा प्रत्येक १५ दिनमा विश्लेषण र पुनरावलोकन गर्ने नीति समेत लिएको चापागाईको प्रष्टोक्ति छ । 

‘एकैपटक धेरै बिमित संक्रमित भए भने त्यसबाट उत्पन्न हुनसक्ने दायीत्व व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा हामी सचेत छौ ।’ उनले थपे–‘त्यसकारण प्रत्येक १५ दिनमा बैठक बसेर यसको विषयमा रिभ्यू गर्ने भनिएको छ ।’ 

यो प्रडक्ट लकडाउनका बेला समेत बाहिर हिँड्नुपर्ने वा कार्यालयमा खटिनुपर्ने पत्रकार, अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई निकै उपयोगी हुने उनको सुझाव छ । 

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना भाइरससम्बन्धी बिमालेख राहात प्याकेजको रुपमा ल्याइएको थप प्रष्ट्याए । ‘यसमा बिल वा अन्य कागजात केही चाहिन्न, पीसीआर रिपोर्टका आधारमा तुरुन्त बिमितले भुक्तानी पाउँछ ।’ उनले भने–‘कोरोना संक्रमणबाट हुनसक्ने आर्थिक क्षतिमा थोरै भए पनि सहयोग गर्ने उद्देश्यले यो प्रडक्ट ल्याइएको हो ।’ 

घातक रोगसँग सम्बन्धित बिमालेखहरुमा एक महिनाको वेटिङ पिरियड राखिए पनि कोभिड १९ का लागि भने १५ दिनको मात्र यस्तो पिरियड राखिएको छ । 

पौडेलले स्थानीय निकायका वडा वडा र गाउँ गाउँमा न्यून आय भएकाहरुका लागि यो प्रडक्ट विशेष रुपमा डिजाइन गरिएको बताए । यो विषयमा स्थानीय निकायका प्रमुख तथा अन्य अधिकारी, वडाअध्यक्ष तथा सदस्यहरुले प्रचार प्रसार गर्न आवश्यक रहेमा जोड दिए । ‘वडा वडामा यो लैजाने हो भने धेरैलाई निकै ठूलो राहात हुन्छ ।’ पौडेलले थपे–‘स्थानीय निकायले समेत यसलाई प्रोत्साहित गर्ने नीति बनाउनुपर्छ ।’ 

उनले प्रडक्ट लञ्च भएको एक–दुई दिनमै राम्रो रेसपोन्स आएको समेत दाबी गरे ।