काठमाण्डौ । नेतृत्व कुशल र दुर्बल हुँदा कतिसम्म फरक पर्छ भन्ने पछिल्लो उदाहरण नेपाल बैंक लिमीटेड भएको छ । केही महिनाअघिसम्म समस्याग्रस्त बैंकको रुपमा देशकै पहिलो बैंक भएर पनि खराब इमेज बनाएको यो बैंकलाई देवेन्द्रप्रताप शाहले नेतृत्व गर्न पुगेपछि बैंकका दुर्बल पक्षहरु रातारात सुधारिएका छन् । तीव्र इच्छाशक्ति र लामो बैकिंग अनुभव भएका शाहको कुशल रणनीतिकै कारण बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा खूद नाफा ३ अर्ब १ करोड पुर्याएको छ । 

धेरैलाई लाग्न सक्ला बैंकले आफ्नो नाममा विभिन्न ठाउँमा रहेको सम्पत्ति बिक्री गरेका कारण नाफा यति धेरै माथि पुर्याएको हो । तर यो गलत देखिएको छ । २ अर्ब भन्दा बढी त विजिनेशबाटै नाफा आर्जन गर्न यो बैंक सफल भएको छ । 

बैंकले बिहीबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ४८ करोड ३८ लाखमा सीमित खूद नाफा ३ अर्ब १ करोड पुगेको छ । 

केही महिनाअघिसम्म पनि क्यापिटल एडेक्वेसी रेसियो नेपाल राष्टबैंकले तोके भन्दा निकै कम रहेको यो बैंकले आफ्नो नाममा रहेको घरजग्गा, अन्य सम्पत्ति र क्रस होल्डिंगमा रहेको सेयर बिक्री गरी यसमा आमूल सुधार गरेको छ । अब नेपाल बैंकको क्यापिटल एडेक्वेसी रेसियो नेपाल राष्टबैंकले तोकेको भन्दा पनि राम्रो भएको देखिएको छ । समग्र रुपमा बैंकको बित्तीय अस्वस्थता हटेर गएको देखिएको छ । अब नेपाल बैंकको क्यापिटल एडेक्वेसी रेसियो ११.४१ कायम भएको छ । नेपाल राष्टबैंकले वाणिज्य बैंकहरुको यस्तो रेसियो १० हुनैपर्ने भनेको छ । अघिल्लो आर्थिक वर्षसम्म यो रेसियो ७.५० प्रतिशतमा सीमित थियो । 

बैंकले संचालन नाफामा समेत राम्रो प्रगति गरेको छ, यसको  अर्थ हो बैंकको कोर विजिनेश समेत निकै बढेको छ । 

नेपाल बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ अर्ब ३१ करोड रहेको खूद ब्याज आम्दानी ०७२/७३ मा ४ अर्ब ६९ करोड पुगेको छ। 

बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रहेको छ । सञ्चित कोष समेत बढेको छ । अघिल्लो आबमा ३८ करोड ४७ लाख रहेको रिजर्ब अहिले २ अर्ब ६३ करोडको भएको छ । 

बैंकले निक्षेप संकलनमा पनि कमालको प्रस्तुती दिएको छ । अघिल्लो वर्ष ७७ अर्ब ९९ करोड निक्षेप संकलन गरेको यो बैंकले आब २०७२/७३ मा ८९ अर्ब ४१ करोड निक्षेप संकलन गर्न सफल भएको छ । 

६३ अर्ब ५२ करोड ऋण प्रवाह गरेको छ, जब कि अघिल्लो वर्ष यो बैंकले ५३ अर्ब ३८ करोड मात्र कर्जा प्रवाह गर्न सकेको थियो । 

संभावित जोखिम व्यवस्थापनका लागि बैंकले ६२ करोड ९३ लाखको व्यवस्था गरेको छ । 

बैंकले यो अवधिमा निस्क्रिय कर्जालाई घटाउने काममा समेत विशेष ध्यान दिएको देखिएको छ । कारण अघिल्लो आबमा ३.९८ प्रतिशत रहेको निस्क्रिय कर्जा आब २०७२/७३ मा घटाएर २.७२ मा झारिएको छ । 

बैंकको वार्षिक प्रति सेयर आम्दानी ४४.६९ रुपैयाँ पुगेकोछ । प्रतिसेयर नेटवर्थ १०५.९५ रुपैयाँ पुर्याएको बैंकको मूल्य आम्दानी अनुपात १०.०७ गुणा रहेको छ । यति थोरै मूल्य आम्दानी अनुपात हुनुको अर्थ बैंक बित्तीय रुपमा पूर्ण स्वस्थ रहेको भन्ने संकेत हो । किनकि यो अनुपात जति कम भयो, बैंक त्यति नै स्वस्थ र सेयरमा लगानीका लागि योग्य मानिन्छ ।