काठमाण्डौ । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एन्ड भिलेज होटेल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, वीरगन्ज)बीच सस्ंथागत परामर्श सेवाअन्तर्गत रोडम्याप फर आईपीओका लागि सम्झौतामा भएको छ। 

सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगना तथा हिमाल वाटरपार्कका तर्फबाट निर्देशक सुनिलकुमार खेतानले हस्ताक्षर गरेका छन्। 

उक्त समारोहमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवनराज पन्त तथा हिमाल वाटरपार्कका  तर्फबाट नायब महाप्रबन्धक राजेश रञ्जनको पनि उपस्थिति थियो। 

यो होटेलको स्थापना वीरगन्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिलकुमार खेतानले गरेका हुन्। यस होटेलको संरचना १ लाख २२ हजार ४३०.४८ वर्गफिटमा फैलिएको छ। 

सन् २०७३ देखि यो होटेलको निर्माण कार्य सुरु भएको थियो भने अहिले उक्त होटेलको निमार्ण कार्य भइसकेको छ। 

हिमाल वाटरपार्क भारतको एक प्रसिद्घ होटेल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तर्राष्ट्रिय होटेल चेन हो। क्लार्क रिसोर्टले भारतको जयपुर, लखनउ र आग्रामामा पनि विभिन्न होटेल सञ्चालन गरिसकेको छ। 

उक्त सम्झौताअन्तर्गत एनआईबिएल एस क्यापिटलले हिमाल वाटरपार्कलाई सर्वसाधारण सेयर निष्कासनपूर्व निष्कासनको अवधिमा र निष्कासनपश्चात तीन चरणमा सेवा प्रदान गर्नेछ। पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्वतयारीसम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्कासन गर्ने सिलसिलामा निष्काशन तथा बिक्री प्रबन्धनसम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरुसमेत प्रदान गर्नेछ र सेयर निष्कासनपश्चात एनआइबिएल एस क्यापिटलले हिमाल वाटरपार्कको सेयर रजिस्ट्रारको रुपमा सेवा प्रदान गर्ने जानकारी गराएको छ।  

एनआईबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।