काठमाण्डौ । पूँजीबजार सुधार संघर्ष समितिका संयोजक रोहन कार्कीले धितोपत्र बोर्डका कर्मचारीहरुले आफूहरुको आन्दोलनपछि भएको वार्ता र सहमतिको विषयमा भ्रम छर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 

बिजशालासँग कुरा गर्दै संयोजक कार्कीले लगानीकर्ताको आन्दोलनका कारण वार्तामा बस्न तयार भएको बोर्डसँग शान्तिपूर्ण र सौहाद्रपूर्ण ढंगले सहमति भएको विषयलाई गलत ढंगले त्यहाँको कर्मचारी संगठनले दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका हुन् । 

'कर्मचारी संगठनको नाममा विज्ञप्तिबाजी गर्दै बोर्डका अधिकारीहरुलाई बन्धक बनाएर, गालीगलौज गरी सहमति गर्न बाध्य बनाइएको भनेर संगीन आरोप लगाइएको छ, जुन निराधार छ ।' कार्कीले भने-'हामी बोर्ड पुगेदेखि नै व्यापक संख्यामा सुरक्षाकर्मीको उपस्थिति थियो । वार्तामै पनि जनपद प्रहरीको तर्फबाट डिएसपी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको सहभागिता थियो ।' 

उनले प्रहरीको सुरक्षाघेरामा वार्ता भएको र वार्ताका लागि आन्दोलनकारीको तर्फबाट सीमित व्यक्ति मात्र बोर्डको कार्यालयभित्र छिरेको अवस्थामा बोर्डका कर्मचारीले बन्धक बनाए भन्ने हास्यास्पद रहेको बताए । 

'यो सबै हामी भूइँमान्छेहरुको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र मात्र हो ।' उनले थपे-'हामीले गरेका सहमतिको अक्षरंश कार्यान्वयन हुने कुरामा हामी आशावादी छौं ।'

धितोपत्र बोर्डको एउटा कर्मचारी संगठनले हिजो साँझ विज्ञप्ति प्रकाशित गरी पूँजीबजार सुधार संघर्ष समितिको नाममा वार्ता गर्ने भन्दै बोर्डका कर्मचारीलाई बन्धक बनाएर जबरजस्ती सहमति गर्न लगाइएको र गालीगलौज समेत गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको थियो ।