काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस लोकथामका लागि अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा विभिन्न अनौठा घटनाहरु पनि घटिरहेका छन्।

यस्तै एउटा घटेको छ छिमेकी मुलुक भारतमा। लकडाउनमा बेहुली लिन झारखण्डबाट निस्केको बेहुलासहितको जन्ती ३५ दिन अलीगढमा फस्यो। अनि ३५ दिनपछि हिजो आइतबार जन्ती बेहुली लिएर झारखण्ड फर्किएको छ।

अलीगढका डीएमको अनुमतिपछि विवाहको सबै रिति पुर्याएर जन्ती बेहुला–बेहुली लिएर झारखण्ड फर्किएको हो। यसबीच अलीगढ पुगेको जन्तीका सदस्यलाई त्यहाँ स्थानीयले खानपान र बसोबासमा कुनै कमी हुन दिएनन्।

अलीगढको अतरौली गाउँको विधिपुरनिवासी नरपत सिंह आर्यकी छोरी सावित्री आर्यको विवाह गत मार्च २२ तारिखमा तय गरिएको थियो। २१ मार्चमा झारखण्डको धनवादस्थित तहसिल तोपचाँची गाउँबाट बेहुलासहितको जन्ती विधिपुरका लागि हिँड्यो। जन्तीमा बेहुला विजय कुमारको परिवारसहित १२ जना सहभागी थिए। जब जन्ती गाउँ पुग्यो त्यही दिन अर्थात २२ मार्चमा जनता कफ्र्यु अनि त्यसपछि लकडाउन जारी भयो। 

लकडाउन मे ३ सम्म बढाइयो। अनि फेरि १४ अप्रिलसम्म तोकिएको जन्ती विदाइ फेरि लकडाउन बढाइएपछि रोकिन पुग्यो। 

त्यसपछि अधिवक्ता कल्याण समितिका अधयक्ष नबाब सिंह एडभोकेटले परिवारका साथ मिलेर एक सांसद राजवीर सिंह सहयोग मागे। त्यसपछि सांसद सिंहले डीएमसँग कुरा गरे अनि स्थानीय प्रशासनको अनुमतिमा हिजो आइतबार बिदाइको अनुमति दिइयो। 

यही मौकामा जिल्ला पञ्चायत सदस्य सुषमा रानी र नबाब सिंह एडभोकेट पनि विवाह सहभागी भएर बेहुलाबेहुलीलाई आशीवार्द दिँदै जन्तीलाई बिदाइ गरे। – एजेन्सी