काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि लकडाउन लागू गराउन असफल भएको भन्दै टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पदबाट राजीनामा दिएका छन्।

सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन निकट मानिन्छन्। 

गत शुक्रबार रातिदेखि टर्कीका सबै ३१ सहरमा ४८ घन्टे लकडाउन घोषणा गरिएको थियो। तर लकडाउन घोषणा गरिएकै रात टर्कीको राजधानी इस्तान्तबुलमा हुलदंगाको स्थिति सिर्जना भयो।

सरकारले शुक्रबार मध्यरातबाट लकडाउन घोषणा गर्दै जनतालाई घरबाहिर ननिस्किन निर्देशन दिएको थियो। भोलिपल्ट बिहान शनबिार मानिसहरु किनमेलका लागि बाहिर निस्किन थाले। यो संख्या विस्तार बढ्दै जाँदा हुलदंगाकै स्थिति सिर्जना भयो।

टर्की प्रशासनले दैनिक उपभोग्य सामान र औषधि किन्न छुट रहेको बताए पनि मानिसहरु सामान्य रुपमै घरबाट बाहिर निस्केपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो। त्यसपछि सरकारले अचानक कफ्र्यु लगाउनु पर्यो। सरकारको यो निर्णयलाई आमजनता र विपषी नेताहरुले आलोचनासमेत गरे। 

इस्तानबुलमा १.६ करोड मानिस बसोबार गर्छन्। ठूलो संख्यामा मानिसहरु किनमेलका लागि बाहिर आएपछि सरकार तनावमा पर्यो। सहरका मेयरले पनि ट्विटरमार्फत भिडियो पोस्ट गर्दै आफूलाई लकडाउनबारे सरकारले पहिले नै जानकारी नगराएको भन्दै पन्छिए। 

त्यसपछि गृहमनत्री सुलेमानले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउन नसक्नुमा आफ्नै कमजोरी रहेको स्वीकार गर्दै ट्विटरमार्फत नै राजीनामा दिने घोषणा गरेका छन्। ‘मैले जनताको सुरक्षाका लागि लकडाउनको फैसला लिएको थिएँ, यो संक्रमण रोक्नका लागि थियो’, उनले ट्विटरमा भनेका छन्।

यद्यपि राष्ट्रपति अर्दोआनले सुलेमानको राजीनामा स्वीकृत गरिसकेका छैनन्।

टर्कीमा ७ वर्षपछि कुनै मन्त्रीले यसरी राजीनामा दिएका हुन्। यसअघि सन् २०१३ मा एक मन्त्रीले राजीनामा दिएका थिए। 

टर्कीमा कोरोनाभाइरसको मामिला बढिरहेको छ। आइतबार साँझसम्म त्यहाँ करिब ५६ हजार ९५६जना संक्रमित भइसकेका छन्।