काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउन केही खुकुलो पार्ने निर्णय आजै हुने बताएका छन्। 

संसदमा बुधबार बजेटमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेकोले लकडाउन समयानुकूल ढंगले खुकुलो पार्दै सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताएका हुन्। 'निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ', उनले भने।

लामो समयदेखि लकडाउन हुँदा जनजीवन कष्टकर भएको भन्दै खासगरी निजी क्षेत्रले त्यसको सुरक्षित विधि परिवर्तन गर्न माग गरिरहेका थिए।

प्रधानमन्त्री केपी ओलीले नेपालमा भेटिएका समग्र सङ्क्रमितमध्ये ८५५ भन्दा धेरै भारतबाट आएका व्यक्ति भएको बताए। उनले वैशाखको पहिलो सातादेखि भारतबाट नेपालीहरू भित्रिन थालेको र वैशाखमा साढे सात हजार अनि जेठमा हालसम्म सवा दुई लाख मानिस भित्रिएको बताए।

प्रधानमन्त्री केपी ओलीले हाल नेपालमा कोरोनाका कारण ज्यान गुमाएका १५ जनामध्ये धेरैलाई अन्य स्वास्थ्य समस्या पनि रहेको बताए। उनले हालसम्म नेपालीको प्रतिरोधी क्षमता राम्रो देखिएको र मृत्युदर पनि अन्यत्रको तुलनामा कम देखिएको बताए।