काठमाण्डौ । लक्ष्मी इक्वीटी फण्डमा तेश्रो दिनसम्म आवेदनको संख्या केही बढेको छ । तर आवेदन दिने समय २ दिन बाँकी रहँदा समेत यो म्युचुुअल फण्डमा माग अनुसारको आवेदन अझै परेको छैन । 

लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुुअल फण्ड लक्ष्मी इक्वीटी फण्डले १० रुपैयाँ प्रति इकाई मूल्यको कुल १० करोड इकाई निश्कासन गरेको थियो । 

तेश्रो दिन(सोमबार)सम्म यो स्किममा देशभरबाट ३ हजार ५ सय ६१ आवेदकबाट ५० करोड ३३ लाख रुपैयाँको मात्र प्रस्ताव परेको छ । मंगलबार र बुधबार(२७ र २८ गते)सम्म पनि आवेदन दिन मिल्ने भएकोले मरीतरी १ अर्बको हाराहारीमा प्रस्ताव आउला कि भन्ने आशा गरिएको छ । 

पछिल्लो समय सार्वजनिक निश्कासनहरु ओभरसब्सक्राइब भइरहेको बेला यो स्किममा भने माग अनुसारको आवेदन समेत नपर्नुलाई लगानीकर्ताहरुको अनिच्छा र लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको पहिलो स्किमले गर्न नसकेको प्रगति नै कारक देखिन्छ । 

आवेदन दिने समय पहिलो चरणमा बैशाख २६ गतेसम्म र सो अवधिसम्म माग गरे अनुसारको प्रस्ताव नपरे अधिकतम मितिको रुपमा  जेठ ५ गतेभित्र आवेदन दिन सकिने बताइएको छ ।

लक्ष्मी क्यापिटल मार्केटले प्रबन्धन गरेको र लक्ष्मी बैंक लिमीटेडले प्रायोजन गरेको स्किम ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ सय देखि अधिकतम १ करोड युनिटसम्मका लागि आवेदन दिनसक्ने व्यवस्स्था मिलाइएको छ । कुल १० करोड इकाईमध्ये १.५० करोड इकाई लक्ष्मी बैंकका लागि र ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

इच्छुकले नयाँ बानेश्वरस्थित लक्ष्मी क्यापिटलको मुख्य कार्यालय र देशभरका लक्ष्मी बैंकका शाखा कार्यालयबाट आवेदन फारम भर्न सक्नेछन् । आवेदकहरुले आस्वाको अनुमति प्राप्त देशैभरका बैंक तथा बित्तीय संस्थामार्फत समेत स्किममा लगानी गर्न सक्नेछन् ।

लक्ष्मी क्यापिटलले यसअघि नै पहिलो म्युचुअल फण्डको रुपमा लक्ष्मी भ्यालू फण्ड १ संचालन गरिरहेको छ । यो स्किमका चैत अन्तिसम्मको नेट एसेट भ्यालू प्रति इकाई १३ रुपैयाँ ४६ पैसा रहेको छ ।