काठमाण्डौ । अन्य कुनै लघुवित्त संस्था प्राप्ति प्रक्रिया र गत वर्षको लाभांश प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको कात्तिक २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा गर्ने निर्णय गरेको हो ।

सभामा विशेष प्रस्तावका रुपमा राखिने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २६.३२ प्रतिशत लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांशमा संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

यसैगरी सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बनधी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अकिार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा प्रस्तुत गरिने सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछ । 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर ११ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गरेको छ । यसको अर्थ मंसिर १० गतेसम्म कायम सेयरधनीहरु पनि संस्थाको प्रस्तावित लाभांशको भागिदार हुन पाउनेछन् ।