काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । योसँगै शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ । 

यो साताको सुनको मूल्य निरन्तर बढेको थियो । गत साताको शुक्रबारको तुलनामा आज कायम सुनको मूल्य ११ सय रुपैयाँले बढी हो । 

बिहीबार भने सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको थियो । साताको पहिलो दिन अर्थात आइतबार ९१ हजार ६०० रहेको थियो । 

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको हो। 

अन्तराष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य निरन्तर बढिरहँदा त्यसको प्रभाव नेपालको बजारमा समेत परेको हो । अन्तराष्ट्रिय बजारमा सोमबार प्रति औंस १७९२.४८ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर १८२६.५५ डलर पुगेको छ । 

यस्तै, सोमबार प्रतिऔंस २२.२७ डलरमा सीमित चाँदीको मूल्य बढेर शुक्रबार २३.१८ डलर प्रतिऔंस पुगेको छ ।