काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीले लगातार छालाङ मारिरहेका छन्। 

ताजा तथ्यांकअनुसार एसियाकै धनी व्यक्ति अडान विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन्। यसअघि उनी विश्वका पाँचौँ धनी थिए। 

फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा एक स्थान माथि उक्लिएका हुन्। माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन्। गेट्सको कुल सम्पत्ति अहिले १०३ अर्ब डलरमा झरेको छ।

टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क शीर्ष अरबपतिहरुको सूचीमा शीर्ष स्थानमा छन्। २३०.४ अर्ब डलरको कुल सम्पत्तिका साथ मस्क विश्वकै धनी व्यक्ति कायमै छन्। योसँगै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १४८.४ अर्ब डलरसहित विश्वको दोस्रो धनी व्यक्ति र १३९.२ अर्ब डलरका साथ अमेजनका जेफ बेजोस तेस्रो स्थानमा छन्।

शीर्ष १० अर्बपतिहरुको सूचीको छैटौँ स्थानमा ल्यारी एलिसन छन्। उनको कुल नेटवर्थ ९७.३ अर्ब डलर रहेको छ। दिग्गज लगानीकर्ता वारेन बफेट ९६.९ अर्ब डलरको नेटवर्थसहित सातौँ स्थानमा पुगेका छन्। ल्यारी पेज ९६.७ अर्ब डलरको कुल सम्पत्तिका साथ आठौँ स्थानमा छन् भने सर्गेई ब्रिन ९३ अर्ब डलरको कुल सम्पत्तिका साथ नवौँ स्थानमा छन्।

शीर्ष १० अर्बपतिमा परेका दोस्रो भारतीय उद्योगपति रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी १० नम्बरमा छन्। उनको कुल सम्पत्ति ८७.१ अर्ब डलर रहेको छ। 

पछिल्लो फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति लगातार घट्दै गएको छ र उनी अर्बपतिको सूचीमा निकै पछि परेका छन्। हाल उनी २० नम्बरमा पुगेका छन्। जुकरबर्गको कुल सम्पत्ति ५९.३ अर्ब डलरमा झरेको छ। –एजेन्सी