काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले पछिल्लो समयको आफ्नो प्रगति यात्रालाई निरन्तरता दिंदै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि अधिकांश वित्तीय सूचकहरुलाई थप बलियो बनाएको छ । 

बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश मुख्य सूचकहरुमा प्रगति भएको देखिएको हो । 

एभरेष्टले समीक्षा अवधिमा ८६ करोड २२ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ४९ प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा समेत अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४९ प्रतिशतले बढेर १ अर्ब २३ करोड माथि पुगेको छ । 

बैंकको खूद ब्याज आम्दानी र नेट फी कमिसनतर्फ पनि राम्रो प्रगति भएको देखिन्छ । समीषा अवधिमा बैंकले १ अर्ब ८८ करोड खूद ब्याज आम्दानी र २६ करोड १८ लाख नेट फी एण्ड कमिसन आम्दानी गरेको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ७२.६८ र २६.५४ प्रतिशतको बढोत्तरी हो । 

अघिल्लो वर्ष यही अवधिसम्म २६.०४ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) बढेर ३६.४३ रुपैयाँको उचाईमा पुगेको छ भने खराब कर्जा अनुपात ०.३३ प्रतिशत रहेको छ । 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २४७.३२ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १३.७८ गुणा रहेको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ झिनो प्रगति मात्र भएको देखिन्छ ।