काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सेयर लगानीकर्ताका यथोचित माग सम्बोधन गर्न सरकार र नियमनकारी निकायसँग आग्रह गरेको छ। 

युनियनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजार सुधारको माग राख्दै लगानीकर्ताहरुबाट भइरहेको खबरदारी र आन्दोलन तथा तिलक कोइरालाको आमरण अनसनलाई युनियनले गम्भीरतापूर्वक लिएको जनाइएको छ। ‘लगानीकर्ताहरुले नीतिगत सुधारको माग राख्दै राख्दै आमरण अनशनसम्म बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो’, विज्ञप्तिमा भनिएको छ।

लगानीकर्ताबाट राखिएका कतिपय मागहरु धितोपत्र बोर्डको कार्यक्षेत्रभन्दा बाहिरसमेत रहेको हुँदा अन्य नियमनकारी निकाय र सरकारले सम्बोधन गर्न पहल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

आमरण अनशनमा बसेका लगानीकर्ताको जीउधनको सुरक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षित कार्यस्थलको प्रत्याभूति गराउन पनि युनियनले माग गरेको छ।