– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कुनै बेला एकैदिन २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा सबैले भन्ने गर्थेे–‘ब्रोकर लाइसेन्स भनेको त सुनकै अन्डा दिने कुखुरा हो। एकपटक खुले त लाइन बसेरै भए पनि लाइसेन्स लिने थियौँ।’ 

गत असोज २ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ राखेर तीन तहका लाइसेन्स खोलेको छ। तर, बजारमा ब्रोकर लाइसेन्सको लिनेको खासै उत्साह देखिँदैन। यस्तो हुनुको मुख्य कारणहरुमा एउटा भनेको तरलता अभाव र दोस्रो भनेको सेबोनले न्यूनतम चुक्तापुँजी नै २० करोड रुपैयाँ पुर्याउनु हो। त्यसमा पनि यो चुक्तापुँजी भनेको नगद २० करोड रुपैयाँ नै आवश्यक हुन्छ। 

अहिले चरम तरलता अभाव भएको बेलामा जोकोहीले उच्च ब्याजदरमा यत्रो पैसा जुटाउनु फलामकै चिउरा चपाउनुसरह हुन्छ। यतिमात्रै नभएर सेबोनले ब्रोकर कमिसन र डीपी चार्ज घटाउने तयारी पनि गरिरहेको छ। 

नयाँ स्टक एक्सचेन्ज आएसँगै थप नयाँ ब्रोकर पनि आउने भएकोले बजार हिस्सा पनि खोसिने जोखिम पनि त्यत्तिकै नै छ।  

अर्को कारण भनेको आवेदनका लागि एक महिनाको समयावधि पनि निकै कमी हुने देखिन्छ। बीचमा दसैँको बिदा परेका कारण पनि पुँजी जुटाउन तथा कागजपत्रको काम त्यतिकै चुनौतीपूर्ण देखिन्छ। 

सायद यिनै कारणले होला पहिले ब्रोकर लाइसेन्स  सुनको अन्डा भन्ने लगानीकर्तामा ब्रोकर हाउसमा खासै उत्साहित देखिँदैनन्। प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६) भेटिएका एक लगानीकर्ताले भने, ‘अहिले २० करोड रुपैयाँ लगानी गरेर ब्रोकर खोल्नुभन्दा त्यही पैसाले घटेको बेलामा सेयर किने एकको तीन हुन्छ। यसमा संस्थागत लगानीकर्ता बजार आएमा पैसा पनि आउँछ र ढिलोचाँडो बजारले फड्को मार्छ नै।’

अहिले चर्को ब्याजमा ब्रोकर हाउसमा पैसा लाग्नुभन्दा त घटेको बेला सेयर किन्दा नै फाइदा हुने ती लगानीकर्ताको भनाइ छ। 

एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६)मा भेटिएका लगानीकर्ता पनि ब्रोकरसँगै हात जोड्दै भन्दै थिए, ‘मेरो त ३२०० को बुलमा १२ करोड रुपैयाँको सेयर अहिले ६ करोड रुपैयाँ भयो। मलाई नयाँ ब्रोकर लाइसेन्स लिने प्रस्ताव पनि आएको छ। ब्रोकर लाइसेन्सभन्दा पनि मलाई त बजारबाट फाइदा चाहियो।’

ती लगानीकर्ताले बजारमा सधैँ २० अर्ब रुपैयाँको नहुने बताए। ‘ब्रोकर हाउस चलाउँदा दैनिक १ लाख सञ्चालन खर्च हुन्छ’, ती लगानीकर्ताले भने, ‘त्यसमाथि कमिसन घटाउने कुरा आइरहेको छ। त्यसैले अहिले ब्रोकर हाउस खोल्ने चक्करमा लाग्नुभन्दा घटेको बेला सेयरमा लगानी नै फाइदा हुन्छ। ब्रोकरले पनि आखिर कमाउने भनेको बजारबाटै हो।’