काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई सुझाव दिएका छन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसमा उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्। ‘बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको सुनेको छु’, उनले प्रश्न गरे, ‘तपाइँहरुको लगानी केमा केन्द्रित छ ? घर, जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन।’

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे। ‘तपाइँहरुका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसका लागि म तयार छु’, उनले भने, ‘तपाइँहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्। कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्। गरिबी निवारणमा सहयोग गर्नुस्।’

सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई घटाउनुपर्ने बताए। कतिपय सहकारीहरुले जनताको पैसा ठगेर उठीबास लगाएका घटनाहरु देखिएको भन्दै उनले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे। 

अर्थमन्त्री शर्माले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे। अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे। 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था आबद्ध छन्। देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आबद्ध रहेको नेफ्स्कुनले जनाएको छ।