काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट प्रकाशराज शर्माको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। 

आगामी २ वर्षका लागि शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा मीनबहादुर बोहरा चयन भएका छन्। 

यसैगरी महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रेमबहादुर पाठक र सचिवमा केशवकुमार पौडेल चयन भएका छन्।

समितिका सदस्यहरुमा श्रीराम पोख्रेल, गंगाधर पाण्डे, प्रवीणकुमार लामा, बद्रीप्रसाद दुलाल, विनोद आचार्य र विमला योगी चयन भएका छन्। 

संघको सभा काठमाण्डौको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो। सभाको उद्घाटन प्रमुख अतिथिका रुपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका थिए।

सभामा राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधार, नेपाल लघुवित्त संघका अध्यक्ष जगबहादुर पोखरेल तथा नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्षहरु रामचन्द्र जोशी र धर्मराज पाण्डेले शुभकामना मन्तव्य राखेका थिए।

सभामा डेपुटी गभर्नर मिश्रले लघुवित्त संस्थाहरुले २०७८ असार मसान्तको कुल पुँजी कोष ३९ अर्ब, सदस्यहरुको निक्षेप १३० अर्ब, अन्य संस्थाहरुबाट सापटी २०७ अर्बका साथै लगानीमा रहिरहेको कर्जा ३६६ अर्ब र गत आर्थिक वर्षमा धेरै संस्थाहरुले राम्रै व्यवसाय गरेको देखिएको बताएका थिए। उनले लघुवित्त क्षेत्रबाट आएका मागहरुका सम्बन्धमा संघसँग छलफल गर्ने आश्वासन पनि दिए। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।

संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहितका लागि सक्रिय रहँदै आएको छ। हाल रहेका ७० वटामध्ये ५० वटा लघुवित्त संस्थाहरु संघमा आबद्ध छन्।