काठमाण्डौ। पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) सँग सहकार्य गर्नुपर्ने बताएका छन्।

लघुवित्तका लगानीकर्ताको साझा संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभामा पूर्वअर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। ‘लघुवित्तका माध्यमबाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सिर्जना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को ब्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ भन्ने विषयमा सरकारले एसोसिएसनसँग सहकार्य गरी अगाडि बढ्नुपर्छ’, उनले भने। 

पौडेलले लघुवित्तप्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि दिए। 

सभामा लघुवित्त विषयमा विद्यावारिधि गरी विज्ञता हासिल गरेका पाँचजनालाई विषेश सम्मान गरिएको थियो। नेपाल राष्ट्र बैंकका निर्देशक डा. शालिकराम पोख्रेल, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. पुष्पराज शर्मा, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. भरतसिंह थापा र अर्थविद् नरहरि ढकाललाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 

सभामा ५० लघुवित्तका ६० जना अध्यक्ष तथा सञ्चालकको सहभागिता थियो।