नयाँदिल्ली । प्राय मानिसहरु भन्ने गर्छन् सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । केही हदसम्म यो साचो पनि हो, किनभने सेयर बजारमा उतारचढाव आइरहन्छ । बजारको विषयमा राम्रो ज्ञान नभएको व्यक्तिले नबुझी लगानी गर्दा आफ्नो लगानी डूब्न पनि सक्छ । तर, सेयर बजारमा डूबिन्छ मात्र होइन, कतिपयको भाग्य समेत चम्किन्छ । समयले साथ दियो र धैर्य गर्न सक्यो भने सेयर बजार यस्तो लगानीको विकल्प हो, जहाँबाट लखपतिहरु रातारात करोडपति बन्छन्, करोडपतिहरु अर्बपति । सेयर बजारको यस्तै सुन्दर पक्षका कारण भारतको एउटा सामान्य कम्पनीमा लगानी गरी लामो समयसम्म सेयर होल्ड गर्नेहरु करोडपति बनेका छन् । 

मिडिया रिपोर्टका अनुसार भारतीय सेयर बजारमा सूचीकृत जेएम फाइनान्सियल नामक कम्पनीको सेयरमा लगानी गर्नेहरु मालामाल बनेका हुन् । 

मुम्बईमा रहेको यो कम्पनी एक फाइनान्सियल सर्भिस ग्रुप हो । यसको स्थापना सन् १९७३ मा भएको थियो । यसको शाखा भारतबाहेक सिंगापुर, न्यूजर्सी र दुबईमा समेत रहेको छ । करिब २ दशकपहिला अर्थात सन् २००२ को नोभेम्बर महिनामा यो कम्पनीको प्रतिसेयर मूल्य २७ पैसा रहेको थियो । तर, अहिले यो कम्पनीको सेयर ७२ रुपैयाँ प्रतिकित्ताको दरले मुम्बई स्टक एक्सचेञ्जमा कारोबार भइरहेको छ । 

तथापि पछिल्ला केही दिनमा यो कम्पनीको सेयरमूल्य घटिरहेको छ । तर, यो सेयरमा लङटर्म लगानी गर्ने लगानीकर्ताका लागि कम्पनीको सेयर भाग्य चम्काउने आधार बनिदिएको छ । 

सरसर्ती हेर्दा जेएम फाइनान्सियलको सेयरले २० वर्षमा लगानीकर्तालाई ३०० गुणाभन्दा बढीको रिटर्न दिएको देखिन्छ । हिसाबकिताब गरेरै हेर्ने हो भने सन् २००२ मा जसले यो कम्पनीको सेयरमा ३४ हजार लगाएको थियो, उसको सम्पत्ति बढेर आज १ करोडभन्दा बढी पुगिसकेको छ । 

अझै पनि भारतीय विश्लेषकहरुले यो कम्पनीको सेयरमा लगानी गर्नुपर्ने मत दिइरहेका छन् । 

यो त भारतको एउटा उदाहरण मात्र हो । सेयर बजारको सुन्दर पक्ष भनेकै लङटर्मका लागि सम्भावना भएको कम्पनीमा लगानी गर्दा केही हजार एउटा अवधिपछि करोडको हुन्छ भन्ने पनि हो । नेपालमा पनि यस्ता कयौं कम्पनी छन्, जसले लङटर्म होल्ड गर्ने लगानीकर्तालाई मालामाल बनाएका छन् । 

अतः सेयर बजार जोखिमको लगानी मात्र होइन, आफ्नो लगानीलाई सयौं गुणा बनाउने अवसरको थलो पनि हो । 
(एजेन्सीको सहयोगमा)