काठमाण्डौ । यो महिना तीव्र उछालका साथ लगानीकर्तालाई मालामाल बनाएको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा अचानक भारी गिरावट आएको छ । गएको ५ दिनदेखि जारी गिरावटको क्रममा बिटक्वाइनको मूल्य घटेर १३ हजार डलरमा झरिसकेको छ । गत आइतबार उछाल आई २० हजार डलरको उचाईमा पुुगेको बिटक्वाइनको मूल्यमा एकाएक एकतिहाई भन्दा बढी गिरावट आएको हो । 

यो वर्षको सुरुवातमा १ हजार अमेरिकी डलरमा सीमित रहेको बिटक्वाइनको मूल्यमा अप्रत्यासित उछाल आयो र गत आइतबारसम्म मूल्य बढेर २० हजार डलर नजिक पुुग्यो । त्यसपछि बिटक्वाइन जसरी बढ्यो त्यसैगरी भारी प्रतिशतले गिरावट हुन थाल्यो । शुक्रबारसम्म बिटक्वाइनको मूल्यमा २० प्रतिशत भन्दा अधिक गिरावट आई हाल यो १२ हजार ५ सय ६० डलरको स्तरमा झरिसकेको छ । 

एकदिनको कुरा गर्ने हो भने शुक्रबारको गिरावट विगत तीन महिनाको अवधिमा बिटक्वाइनमा आएको सबैभन्दा ठूलो गिरावट हो । एक साताको कुरा गर्ने हो भने बिटक्वाइनमा सन् २०१३ पछाडिको यो नै सबैभन्दा ठूलो गिरावट हो । 

क्रिप्टोकम्पेयर वेबसाइटका फाउण्डर तथा प्रमुख कार्यकारीले भनेका छन्–‘प्रत्येक वर्षको अन्तको बेलामा प्रत्येक लगानीकर्ताहरुले नाफा बुक गर्न चाहन्छन् । यहीकारण क्रिस्टमस तथा नयाँ वर्षभन्दा अगाडि बिटक्वाइनको मूल्यमा तीव्र गिरावट देखिन थालेको हो ।’