काठमाण्डौ । लामो समयपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४ प्रतिशतको लाइनमा आएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ ४ गते बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८४.८२ प्रतिशत कायम भएको हो। अघिल्लो दिन जेठ ३ गते औसत सीडी रेसियो ८४.९२ प्रतिशत थियो। 

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत नै रहेको छ। 

जेठ ४ गते एकैदिन बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो दिन ५४ खर्ब ८८ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। 

यो दिन वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। गत जेठ ३ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा जेठ ४ गते बढेर ४८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। 

जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ। अघिल्लो दिन कुल कर्जा लगानी ४८ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा बढेर ४८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। 

यो दिन वाणिज्य बैंकहरु कुल कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ थियो।