काठमाण्डौ । फिफा विश्वकप २०२२ को फाइनल खेल आज आइतबार राति हुँदैछ। अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुनेछन्। दुवै देश तेस्रो उपाधि जित्न मैदानमा उत्रिनेछन्। 

नेपाललगायत धेरै देशमा फाइनल खेल हेर्न आतुर छन्। अर्जेन्टिनाका लियोनल मेस्सीको क्रेज झनै बढेको छ। किनकि यो उनको अन्तिम विश्वकप फाइनल हुनेछ। 

फाइनलअघि अर्जेन्टिनाको जर्सीको माग विश्वभर बढेको छ। जर्सी निर्माता एडिडासले एक विज्ञप्ति जारी गर्दै विश्वमा अर्जेन्टिनाको जर्सी किन्ने क्रेज रहेको र कतिपय देशमा भने स्टक नै सकिएको अवस्था रहेको बताएको छ।

रोयटर्सको रिपोर्टका अनुसार एडिडासका प्रवक्ताले विश्वभर अर्जेन्टिनाका जर्सी र किट्सको माग अचानक बढेको जानकारी दिएका छन्। जसका कारण कतिपय स्थानमा स्टक घटेको छ। ‘हामी कतै पनि स्टक नसकियोस् भनेर निरन्तर प्रयासरत छौँ’, एडिडासका प्रवक्ताले भने। 

एडिडास अर्जेन्टिनाको आधिकारिक प्रायोजक हो। यो विश्वको सबैभन्दा ठूलो स्पोर्ट्स ब्रान्ड पनि हो। यस्तो अवस्थामा उसको जर्सी र किटको संसारभर धेरै माग छ। 

सन् २०१८ को रसिया विश्वकपको तुलनामा यसपटक माग बढी रहेको कम्पनीले जनाएको छ। जुन करिब ३० प्रतिशतले बढेको छ।

जर्मनी विश्वकपबाट बाहिरिएपछि कम्पनीको बिक्री घट्ने डर बजारमा थियो तर त्यसो भएन। कम्पनीले विश्वकपमा करिब ४२ करोड ५० लाख डलरको बिक्री गरेको छ। विश्वकपमा सात टोली थिए जसको प्रायोजक एडिडास थियो। जसमध्ये ३ टोली नकआउट चरणमा पुगेका थिए। –एजेन्सी