काठमाण्डौ । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २०७४ कात्तिक १९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् । 

नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो । यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका अन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही यसवाट लाभान्वित हुनेछन् । 

दूरसञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । नेपाल सरकारको नीति अनुरुप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।