काठमाण्डौ । सेयर बजार निकै उतारचढाव हुने गरेको छ। कुन सेयरले लगानीकर्ता र कम्पनी दुवैलाई एकैपटक धनी बनाउन सक्छ भन्ने कसैले भन्न सक्दैन। 

एउटा चिनियाँ कम्पनीसँग यस्तै भएको छ। गत बुधबार एडेनट्याक्स ग्रुप कर्पको सेयर अमेरिकी सेयर बजारमा लिस्टिङ एको थियो। लिस्टिङकै दिन यो कम्पनीको सेयरमा यस्तो उछाल आयो कि सबै छक्क परे।

ब्लुमवर्गको रिपोर्ट अनुसार नास्डकमा लिस्टिङसँगै उक्त कम्पनीको सेयर १३ हजार ३१ प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रतिसेयर ५ डलर (६३५ रुपैयाँ)को दरले लिस्टिङ भएको थियो। तर, लिस्टिङपछि सेयरमूल्यमा भारी वृद्धि भयो र ५ डलरको सेयरको मूल्य एकाएक बढेर प्रतिसेयर ६५६.५४ डलर (८३ हजार ३८० रुपैयाँ) पुगेको हो। कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु आफ्नो सेयरको मूल्य बढेको देखेर छक्क परेका छन्।

सेयरमूल्यमा आएको उछालले कम्पनीको भ्याल्यूमा पनि प्रभाव पारेको छ। यो कम्पनीको बजार पुँजीकरण २० अर्ब डलर पुगेको छ। लिस्टिङकै दिन यस्तो उछाल यसअघि केही चिनियाँ कम्पनीको सेयरमा आएको थियो। जसमा हङकङ र चीनका एएमटीडी डिजिटल इंक र म्याजिक इपेरियर ग्लोबल लिमिटेड छन्। 

रिपोर्टका अनुसार एडेनट्याक्स ग्रुप कर्र्पको सेयरमूल्यमा आएको उछालका कारण प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्बपतिको सूचीमा परेका छन्। अध्यक्ष तथा सीईओ होङ जिडा र उनका भाइ होङ झिवाङको सम्पत्ति बढेर १.३ अर्ब डलर पुगेको छ। १२ हजार प्रतिशतभन्दा बढीको उछालका साथ यो कम्पनीको मूल्यले एस एन्ड पी ५०० इन्डेक्समा समावेश अधिकांश कम्पनीहरुको मार्केट क्यापलाई पार गरेको छ। 

सेयरमूल्यमा आएको उछालले लगानीकर्ताहरु निकै उत्साहित देखिन्थे। –एजेन्सी