काठमाण्डौ । लुम्बिनी विकास बैंकले दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहरालाई मिति आज साउन २ गतेबाट लागू हुने गरी ४ वर्षको पदावधिसहित नियुिक्त गरेको छ। 

बोहराले आजै एक कार्यक्रमबीच बैंकमा पदबहाली गरेका छन्। कार्यक्रममा उनलाई बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुख, शाखा प्रबन्धकलगायत कर्मचारीले स्वागत गरेका छन्। 

सीईओ बोहराले बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनको कार्यकालमा बैंकको चुक्तापु‘जी २.१० अर्बबाट वृद्धि भएर ३.२८ अर्ब पुगेको छ। बैंकको निक्षेप २२.९६ अर्बबाट वृद्धि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट वृद्धि भएर ४१.१३ अर्ब पुगेको छ। 

बोहराको कार्यकालको ४ वर्षमा बैंकका सेयरधनीलाई कुल ६०.७५% लाभांस वितरण गरिएको छ। बैंकको निष्क्रिय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ। 

बोहराले भारतको इलाहबाद विश्वविद्यालयबाट बीएस्सी र एमबीएसम्मको योग्यता उत्कृष्ट अंकका साथ पूरा गर्नुका साथै विगत २५ वर्षदेखि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा रही सफलताका साथ कार्य गर्दै आएका छन्। 

व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सन् १९९७ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरी माछापुच्छ्रे बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिकासमेत निभाएका थिए। उनले तत्कालीन युनाइटेड फाइनान्समा महाप्रबन्धकका रुपमा र तत्कालिन नारायणी नेसनल फाइनान्समा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालीन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि कुशलता पूर्वक भूमिका निर्वाह गरेका थिए। 

उनको आगामी कार्यकालमा बैंकले अझै उन्नति र प्रगति गर्ने विश्वास लिइएको छ।