बुटवल। लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने भएको छ। 

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो। लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। 

यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको थियो। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिनु भएको थियो। बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए। 

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउनेछ। 

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दूरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो। 

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ। 

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए। भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको उनले जानकारी दिए। 

केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटेल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन्। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। 

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। 

खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।