काठमाण्डौ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज असार ६ गतेदेखि एफटीटीएचमार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ। 

एनटी टीभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालयमातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए। 

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टीभी सेवा पनि उपलब्ध गराएपश्चात ‘ट्रिपल प्ले’को अवधारणा कार्यान्वयनमा आउने भएको हो।

हाल वितरित एनटी टीभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन्। यसका साथै नेपालमा उपलब्ध र हेरिने प्रायः सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकलाई उपलब्ध हुनेछ। हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टीभी सेवा उपलब्ध गराइरहेको छ। बेसिकमा १०२ वटा टेलिभिजन च्यानल र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानल हेर्न सकिन्छ।

नेपाल टेलिकमले २०७७ पुस १७ गते सर्वप्रथम एनटी टीभी सेवाको वितरण सुरु गरेको थियो। हाल यो सेवा काठमाण्डौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ। 

एनटी टीभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरुसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट https://ntc.net.np/tariff/ftth-tariff मा उपलब्ध छ।