काठमाण्डौ । श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्य–कला मन्दिरले यस वर्ष विविध क्षेत्रका सात स्रष्टाहरूलाई विविध सम्मान प्रदान गरेको छ । 

सोमबार आयोजित साहित्य–कला मन्दिरको २२ औं वार्षिकोत्सव समारोहमा समाजसेवी अंगुरबाबा जोशीलाई एक लाख रुपैयाँको गङ्गादेवी चौधरी स्मृति सम्मान प्रदान गरिएको छ । शिक्षा क्षेत्र, महिला जागरण तथा समाजका विभिन्न क्षेत्रमा लामो समय सेवा पु¥याएबापत जोशीलाई पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै सरस्वती सम्मानबाट अग्रज पत्रकार मदनमणि दीक्षित, इतिहास शिरोमणि बाबुराम आचार्य सोधसम्मान डा. जगमान गुरुङलाई, नारायणगोपाल संगीत सम्मान संगीतकार शान्ति ठटाल, अरनिको ललितकला सम्मान कलाकार दुर्गा बराल ‘वात्सायन’ र बालकृष्ण सम रंगसम्मान रंगकर्मी प्रचण्ड मल्ललाई प्रदान गरिएको छ । 

यसैगरी, नवप्रतिभा सम्मानबाट जीव विज्ञानमा दक्षिण कोरियाबाट विद्यावारिधी गरेकी डा. बबिता पौडेल भट्टराई सम्मानित भएकी छिन् । गङ्गादेवी चौधरी स्मृतिसम्मान ताम्रपत्रका साथमा रू. १ लाख राशिको छ भने अन्य सबै सम्मानहरू ताम्रपत्रका साथ रू. ५१ हजार रुपैयाँ राशिको रहेको बताइएको छ । 

सम्मानित हुनेहरूलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे र साहित्य–कला मन्दिरका अध्यक्ष कवि÷गीतकार बसन्त चौधरीले संयुक्त रूपमा नगद तथा कदरपत्र हस्तान्तरण गरी दोसल्ला ओढाएका थिए । 

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रकवि घिमिरेले साहित्य–कला, संगीतको सम्मान गर्नु राष्ट्रकै सम्मान गर्नु भएको बताए । ‘उद्योग वाणिज्य क्षेत्रमा समर्पित परिवारमा नेपाली साहित्यलाई मन पराउने व्यक्ति हुनु ठूलो कुरा हो,’, घिमिरेले भने, ‘सम्मानित हुनेहरूमा पनि नयाँदेखि पुराना पुस्ता समेटिएको छ । यो उत्कृष्ट संयोजन हो ।’

नेपालमा कपडा व्यापारबाट उद्योग प्रतिष्ठानमा ख्याति कमाएका उद्योगपति लूनकरणदास चौधरीले नेपाली साहित्य तथा कलाको जगेर्ना गर्न साहित्य कला–मन्दिर स्थापना गरी स्रष्टाहरूलाई सम्मान गर्न थालेका थिए । गंगादेवी उनकी धर्मपत्नी हुन् ।

लूनकरणदासका तीन छोरामध्ये वसन्त चौधरीको अगुवाईमा लूनकरणदास र गंगादेवी चौधरीको स्मृतिमा साहित्यिक गतिविधि सञ्चालन हुँदै आएको छ । 

बसन्त चौधरी स्वयम् पनि नेपाली कविता र साहित्यका क्षेत्रका चर्चित पात्र हुन् । ‘२२ वर्ष भयो साहित्य कलाको सेवामा लागेको’, कला मन्दिरका अध्यक्ष वसन्त चौधरीले कार्यक्रममा भने, ‘यो अवधिमा साहित्य र कला क्षेत्रमा नयाँ नयाँ प्रतिभा र परिवर्तन सिर्जना भएका छन् ।’ उनले आफ्ना बाबुआमाबिनाको जीवन निकै कष्टकर भएको भन्दै उनीहरूको सपना साकार पार्न आफू लागिपरेको समेत उल्लेख गरे । 

हरेक महिना ‘हामी : कवि र कविता’ नियमित शृंखलासमेत चलाउँदै आएको मन्दिरले दुई दशकदेखि विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा मन्दिरका संस्थापक तथा उद्योगी लूनकरणदास माथि बनेको जीवनीपरक वृत्तचित्रसमेत देखाइएको थियो ।

सम्मानित स्रष्टाहरूका तर्फबाट बोल्दै अंगुरबाबा जोशीले यसरी सम्मान ग्रहण गर्नपाउनु गर्वको कुरा भएको उल्लेख गरिन् । उनले आफूले पाएको पुरस्कार किशोरी शिक्षा, अपाङ्ग महिला लगायतकालाई २५–२५ हजार रूपैयाँका दरले सहयोग गर्ने घोषणा गरिन् ।