काठमाण्डौ । विगत १५ वर्षदेखि निरन्तर निकै ठूलो घाटा व्यहोरिरहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब सात अर्ब रुपैयाँको डरलाग्दो घाटालाई ९८ करोडको हाराहारीमा झार्ने सफलता पाएको छ । 

व्यवस्थापनले सुधार तथा चुुहावट नियन्त्रणमा विशेष ध्यान दिंदा एकवर्षको अवधिमै यति ठूलो सफलता हात लागेको हो । 

बिहीबार विद्युत प्राधिकरणको ३२ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बताइएअनुसार आर्थिक वर्ष २०७३/७४ मा कूल आय वृद्धि भई रु ५० अर्ब २२ करोडको उचाईमा पुुगेको छ । त्यसअघिको वर्षमा भने प्राधिकरणले विद्युत बिक्रीबाट रु ३५ अर्ब ७ करोड ३५ लाख मात्रै आर्जन गर्न सकेको थियो । आव २०७२/७३ मा सञ्चालन नोक्सानी रु तीन अर्ब छ करोड ३९ लाख रहेकामा आव २०७३/७४ मा रु दुई अर्ब ४० करोड ७३ लाखमा सीमित हुन पुुग्यो ।

विद्युत् चुहावट न्यूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत् महसुल समायोजन, प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति, आंशिक रुपमा भएको वित्तीय सुधार एवं पुनः संरचनाले खुद नोक्सानी घटाउन महत्वपूर्ण सफलता हात लागेको प्राधिकरण व्यवस्थापनको दाबी छ । 

वार्षिक मूल्यवृद्धिका कारण विद्युत् खरिद लागत रु २७.४३ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले निजी क्षेत्र र भारतबाट विद्युत् खरिदका लागि मात्रै यो अवधिमा रु २८ अर्ब ४५ करोड भुक्तानी ग्रेको छ ।

सञ्चालन खर्चअन्तरगततर्फ उत्पादनतर्फ एक अर्ब ८२ करोड, प्रसारणतर्फ एक अर्ब ९० करोड, प्रशासनतर्फ  एक अर्ब ३० करोड रहेको छ । 

कार्यक्रममा दिइएको जानकारी अनुसार प्राधिकरणले सञ्चालन गरेको चुहावट नियन्त्रण अभियान सार्थक बन्दै गएको देखिएको छ । छोटो अवधिमै करिब ३ प्रतिशतले विद्युत चुहावट कम गर्ने सफलता प्राप्त भएको छ । गत आवमा २५.७८ प्रतिशत चुहावट रहेकामा आव २०७३/७४ मा चुहावट २२.९० मा सीमित बनेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले उत्तर दक्षिण नदी बेसिनका आधारमा ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण अगाडि बढाउनेछ । यस्तै पूर्व–पश्चिम ४०० केभी क्षमताका प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । 

विश्व बैंक, एशियाली विकास बैंक, युरोपेली बैंक, मिलिनियम च्यालेन्ज कर्पोरेशन अमेरिकाको सहयोगमा पूर्वदेखि पश्चिमसम्म उच्च क्षमताका प्रसारण लाइन निर्माणको योजना अगाडि सारिएको उनले बताए । 

उनले प्राधिकरणको तर्फबाट आफू र आफ्ना सहायक कम्पनीमार्फत अगाडि बढाएका आयोजना तोकिएको समयमा नै सम्पन्न गर्न हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाए । कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३० मेगावाट, माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट आयोजनालाई तोकिएको समयमा निर्माण सम्पन्न गराउन हदैसम्मको प्रयास गर्ने र नयाँ आयोजना निर्माणमा ध्यान दिने प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका २२५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने र आगामी असारसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न अधिकतम प्रयास गरिने जानकारी दिए ।