काठमाण्डौ । खराब संस्थामा कसरी प्राण भर्नुपर्छ भन्ने एउटा गतिलो उदाहरणको रुपमा नेपाल बैंक लिमीटेडले आफूलाई स्थापित गरेको छ । कुनै बेला विघटनको संघारमा पुुगेको खबर सुन्नेहरुका लागि यो बैंकको आर्थिक वर्ष २०७३/७४ को प्रगति चमात्कार झै लाग्नसक्छ । यो अवधिमा बैंकले खूद नाफामा मात्र छलाङ हानेको छैन, व्यवसाय बिस्तार गरी खूद ब्याज आम्दानी बढाएको छ भने कम्पनीको एउटा महत्वपूर्ण पक्ष जगेडा कोषमा झनै आमूल सुधार गरेको छ । 

यो बैंकले विगतको तुलनामा आफूलाई आमूल सुधार गरी खूद नाफा ३ अर्ब २१ करोड आर्जन गरेको हो । गत वर्ष यही अवधिमा नेपाल बैंकको नाफा २ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो । 

यो अवधिमा बैंकले नन अपरेटिङ इनकम मात्रै १ अर्ब २४ करोड गरेको छ । यो भनेको बैंकको नाममा रहेको अचल सम्पत्ति बिक्री तथा सेयरहरु बिक्रीबाट प्राप्त आम्दानी हो । तर, नियमित व्यवसायबाट हुने नाफामा समेत बैंकको उत्तिकै दमदार प्रगति देखिएको छ । 

व्यवसाय वृद्धिमा समेत ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ६० करोड रुपैयाँ रहेको यस्तो आम्दानी वृद्धि भई यो वर्ष ५ अर्ब ८३ करोडको उचाईमा पुुगेको छ । 

गत वर्ष यही अवधिमा १ अर्ब ९४ करोड रुपैयाँ रहेको संचालन नाफा बढेर समीक्षा अवधिमा ३ अर्ब २० करोड रुपैयाँ पुुगेको छ । यो राम्रो पक्ष हो । यो अवधिमा बैंकको कर्मचारी र अन्य संचालन खर्च खासै बढेको छैन, यसलाई पनि राम्रो संकेतको रुपमा लिन सकिन्छ । 

यो अवधिमा बैंकले जगेडा कोषतर्फ निकै ठूलो फड्को मारेको छ । जगेडा कोषलाई १३१० प्रतिशतले वृद्धि गर्दै कमालको प्रगति देखाएको हो । अघिल्लो वर्षसम्म यो बैंको यस्तो कोषमा २४ करोड ८९ लाख रुपैयाँ रहेकोमा यो वर्ष ३ अर्ब ५१ करोड जम्मा भएको हो । 

यो अवधिमा बैंकले ९३ अर्ब ९४ करोड निक्षेप संकलन गरी ७४ अर्ब ३७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ८९ अर्ब ४१ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५२ करोड कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ३.११ प्रतिशत रहेको यस्तो अनुपात बढेर ३.१७ प्रतिशत पुुगेको हो । 

यो बैंकको सुन्दर पक्ष भनेकै कस्ट अफ फण्ड निकै न्यून रहनुु हो । यो बैंकको यस्तो लागत १.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १.९८ प्रतिशत रहेको पूँजीगत लागतलाई घटाउनुु पनि यो बैंकका लागि राम्रो संकेत हो । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४०.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.०९ गुणा कायम भएको छ ।