काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको छ। लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको हो।
उक्त समूहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन्। यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।
यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन्। उनले सुरुदेखि नै महासंघमा उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै सोही समूहबाट आफूलाई बस्तुगततर्फको उपाध्यक्षमा अघि बढाएका थिए।
यसैगरी सो समूहबाट एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन्। लामो समयदेखि एसोसिएट्स समूहको टीमको पूर्णता दिन नसकेको उक्त समूहले आज उपाध्यक्षको उम्मेदवार भरत आचार्यको नेतृत्वमा टीमलाई पूर्णता दिएको हो।
पदाधिकारीको टुंगो लगाएको सो समूहले सबै समूहका सदस्यहरुको समेत टुंगो लगाएको जानकारी दिएको छ। ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यसअघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुंगो लगाएका छौँ’, सो समूहका एक जिम्मेवार व्यक्तिले भने, ‘पदाधिकारी तहको सबै टुंगो लाग्यो तर सदस्यहरुमा आवश्कताका आधारमा सबैलाई समेट्ने गरी १–२ जना साथीहरु थपघट हुन सक्छन्।’
भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचतमा सबै प्रदेशमा उमेशलाल श्रेष्ठ समूहका उद्योगी–व्यवसायीहरु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै बस्तुगततर्फ पनि उमेशलाल श्रेष्ठ समूहको राम्रो पकड रहेको छ।
उमेशलाल श्रेष्ठ समूहबाट महासंघमा दुई कार्यकाल सदस्य रहेर सधै व्यावसायिक हकहितमा काम गर्दै आएका हेमराज ढकाल उपाध्यक्षका उम्मेदवार रहेकाले पनि बस्तुगततर्फ सो समूह बलियो रहेको सम्बद्ध सदस्यहरु नै बताउँछन्।
महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समेत उक्त समूहलाई समर्थन हुने भएकाले उमेशलाल समूह सबैभन्दा बलियो रहेको उद्योगी–व्यवसायीहरु बताउँछन्।
यस्तै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले पनि हरेकजसो कार्यक्रममा अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको आफूलाई समर्थन रहेको र आफू ढकालको सहयोगी बनेर व्यावसायिक हकहितमा काम गर्न वरिष्ठ उपाध्यक्ष भएर महासंघमा जान लागेको बताउँदै आएका छन्।
यसका साथै उमेशलाल श्रेष्ठ समूहले यसै हप्ता विशेष कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्ने भएको छ।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago