काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । 

महासंघका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल सफल र उद्योगी व्यवसायीमैत्री हुने विश्वास समेत व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आफू इच्छुक रहेको बताउँदै आर्थिक क्षेत्रमा गुणात्मक प्रगति गर्ने विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए । 

सो अवसरमा उद्योगी व्यवसायीले निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

त्यस्तै, कृषि क्षेत्रका विज्ञ तथा एवम् कर्मचारीले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरुले मुलुकको प्रमुख आर्थिक वृद्धि र आम मानिसको जीविकोपार्जनको क्षेत्र भएकाले त्यसलाई अगाडि बढाउन सरकारको विशेष साथ र सहयोग रहनुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्रीले कृषि क्षेत्रमा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा सरकारले पूर्ण क्षमताका साथ काम गर्ने र विज्ञको सुझावलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका राससले उल्लेख गरेको छ । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन सम्बद्ध विज्ञले कृषि क्षेत्र र मन्त्रालयसँग सम्बद्ध समस्या र चुनौतीबारे जानकारी गराएका थिए । 

उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डल र प्रधानमन्त्रीबीचको भेटका अन्य दृश्यहरुका लागि तलका फोटोहरु क्लिक गर्नुहोस् ।