काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधारदर चैत महिनाको तुलनामा थोरै घटेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखिएको हो। प्रतिवेदनअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८३ प्रतिशत कायम रहेको छ। गत चैतमा औसत आधार दर ६.९० प्रतिशत कायम भएको थियो। यो हिसाबले चैतको तुलनामा वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ०.०७ प्रतिशतले घटेको देखिएको छ। 

गत आर्थिक वर्षको तुलनामा भने समीक्षा अवधिको औसत आधार दर २.१३ प्रतिशतले कम हो। गत वर्ष यही महिनामा वाणिज्य बैंकहरुको आधार औसत दर ८.९६ प्रतिशत रहेको थियो।

यसैगरी समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको भारित औसत ब्याजदर क्रमशः ४.८१ प्रतिशत र ८.५३ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः ६.४४ प्रतिशत र १०.९९ प्रतिशत रहेका थिए ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको वैशाखमा अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर ४.१२ प्रतिशत रहेको छ। जुन गत वर्ष यही अवधिमा ४.०६ प्रतिशत रहेको थियो। यो हिसाबले अन्तरबैंक ब्याजदर ०.०६ प्रतिशतले बढेको देखिन्छ। 

गत आर्थिक वर्षको बैशाखमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.५१ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर २.२८ प्रतिशतमा झरेको छ। 

* नोट : यसअघिको समाचारमा आधार दर घटेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । यसबाट हुन गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।
- सम्पादक