काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रामक देखिएका छन्। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक पछिल्लो एक साता (असोज ९ गतेदेखि १५ गते) सम्मको तथ्यांकले यस्तो देखाएको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। गत असोज ८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी कर्जा परिचालनमा पनि वाणिज्य बैंकहरु आक्रामक देखिएका छन्। पछिल्लो एक साताको अवधिमा बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। असोज ८ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो।