काठमाण्डौ । वाणिज्य बैंकहरुले वैशाखमा ब्याजदर नबढाउने भएका छन्।

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को आइतबार बिहान बसेको पूर्ण बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको एक बैंकरले बताए। यो निर्णयसँगै चैतमा कायम ब्याजदर नै वैशाखका लागि लागू हुनेछ। 

यो निर्णयसँगै वाणिज्य बैंकहरुको वैशाखका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशतर संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम हुनेछ। बचत खातामा न्यूनतम ५.०५ प्रतिशत ब्याजदर हुनेछ।

यसअघि चैतमा पनि बैंकहरुले ब्याजदर बढाएका थिएनन्। बैंकहरुले चैतमा पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिएका थिए। 

गत फागुनमा भने वाणिज्य बैंकहरुले ब्याजदर बढाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम गरेका थिए। बचत खातामा न्यूनतम ५.०५ प्रतिशत ब्याजदर कायम गरिएको थियो। 

वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने सहमति गरेसँगै अब विकास बैंक र फाइनान्स कम्पनीले पनि वैशाखमा पनि चैतकै ब्याजदरलाई निरन्तरता दिने सम्भावना रहेको बताइएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले चैत ३० गतेसम्म वैशाखमा लागू हुने ब्याजदर सार्वजनिक गर्नेछन्।