काठमाण्डौ । जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। 

गत वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। वैशाख महिनाभरि वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले घटेको थियो। 

यसैगरी जेठको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ। गत वैशाख ३० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोमा जेठ ६ गतेसम्म बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। वैशाख महिनाभरि भने वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले घटेको थियो।