काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज आकस्मिक छलफलका लागि बोलाएको छ। 

राष्ट्र बैंकमा दिउँसो ३ बजेका लागि छलफल राखिएको भन्ने खबर आएको एक वाणिज्य बैंकका सीईओ जानकारी दिए।

राष्ट्र बैंक स्रोतले समेत सीईओहरुलाई बोलाइएको पुष्टि गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र असान्त मसान्तभित्रमा गरिसक्नुपर्ने मर्जर सम्झौतालगायतका विषयमा छलफल गर्न सीईओहरुलाई बोलाइएको बतायो। 

केही दिनअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुलाई बोलाएर साढे ३ घन्टा लामो क्लास लिएको थियो। सो क्रममा गभर्नर महाप्रसाद अधिकारीले १–२ वर्ष नाफामा ध्यान नदिन, असारभित्र मर्जरको सम्झौता गरिसक्न र लाभांशका लागि सीईओहरुलाई अनधिकृत दबाब नदिन निर्देशन दिएका थिए। 

सोही छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुको बिग मर्जरमा दिइँदै आएको १० प्रकारका सहुलियत तथा छुट खारेज हुने घोषणासमेत गरेका थिए।