- रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकहरुलाई मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिएको छ। 

मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंक पुुगेकामध्ये ६ वाणिज्य बैंकले सैद्धान्तिक स्वीकृति पाएका हुन्। स्वीकृति पाउनेमा हिमालयन बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक छन्। 

गत हप्ता हिमालयन र सिभिल बैंकलाई राष्ट्रबैंकले मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृती दिएको बैंक स्रोत बताउँछ। ‘हामीले प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्नेबित्तिकै त्यो एमओयू राष्ट्र बैंकमा पठाएका थियौँ’, स्रोतले भन्यो, ‘त्यसमा राष्ट्र बैंकबाट हामीले गत हप्ता नै सैद्धान्तिक स्वीकृति पाइसकेका छौँ।’ 

स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई पनि राष्ट्र बैंकले मर्जर को सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगालाई भने गत असार २२ गते नै उक्त स्वीकृती दिएको थियो। 

सैद्धान्तिक स्वीकृति पाएका यी बैंकहरुले अबको ३ महिनाभित्रै अन्तिम स्वीकृतिका लागि प्रक्रिया पूरा गरेर राष्ट्र बैंकमा कागजात पेस गर्नुपर्नेछ। 

हिमालयन र सिभिल बैंक असार २९ प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। हिमालयनले १००ः८१ स्वाप रेसियोमा सिभिललाई प्राप्ति गर्न लागेको हो। प्राप्तिपछि बैंकको चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ। हिमालयनको चुक्तापुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ छ भने सिभिलको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ९० रुपैयाँ रहेको छ।

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच बराबरी हैसियतमा मर्जरमा जानेगरी असार २ गते सहमतीपत्रमा हस्ताक्षर गरेका थिए। मर्जरपछि नाम ग्लोबल आइएमई बीओके बैंक रहनेछ भने बैंकको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। 

यस्तै इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गत जेठ २७ गते मर्जरमा जाने सहमति गरेका थिए। इन्भेष्टमेन्ट बैंकको १०० कित्ता सेयरबराबर मेगा बैंकको ९० कित्ता सेयर (१ः०.९ स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको थियो। हाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ। 

यता प्रभु बैंक र सेन्चुरी कर्मसियल बैंक पनि मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृतिको पाइपलाइनमा छन्। यी दुवै बैंकबीच गत साउन १५ गते १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। 

हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रहेको छ भने सेञ्चुरी कमर्सियल बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यी दुई बैंक बराबरी हैसियतमा गाभिएपछि चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ।