काठमाण्डौ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार आज पुस १७ गतेबाट सुरु भएको छ। 

मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु भएको हो। आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंकका अध्यक्ष अमिरप्रताप ज.ब. राणा र एनसीसी बैंकका अध्यक्ष केशरी न्यौपानेले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा तत्कालीन कुमारी बैंकका सीईओ रामचन्द्र खनालले वाणिज्य बैंकहरुको इतिहासमा ६५ दिनमा मर्जर सम्पन्न भएको बताए। ‘वाणिज्य बैंकहरुमा सबैभन्दा कम समयमा हामीले मर्जर प्रक्रिया सकेर इतिहास बनाएका छौँ’, उनले भने। 

यी दुवै बैंकको गत मंसिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। नेपाल राष्ट्र बैंकले गत पुस ६ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृत प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले समेत एनसीसी बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व गाभ्ने संस्था कुमारी बैंकले सकार्ने गरी मर्जर प्रक्रिया स्वीकृति प्रदान गरेको थियो। 

मर्जरपछि बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड रुपैयाँ चुक्तापुँजी पुगेको सीईओ खनालले जानकारी दिए। ‘बैंकको ३७ अर्ब रुपैयाँभन्दा धेरै सेयरहोल्डर सेयर इक्विटी, ३०० अर्ब रुपैयाँ बढी निक्षेप र २९० अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ’, उनले भने। 

यसैगरी बैंकको शाखा सञ्जाल ३६० भन्दा बढी पुगेको छ। 

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन्। 

मर्जरपश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौ–२ टंगालमा रहनेछ।