काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै २२ वटै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन्। जसमा आधा दर्जन बैंकहरुको नाफा आर्थिक वर्षमा गिरावट आएको छ भने एउटा बैंकले घाटा व्यहोरेको छ। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ। कृषि विकास बैंक भने घाटामा गएको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मर्जरपछि कायम २२ वटा बैंकहरुले कुल ३३ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। जुन गत वर्षको सोही अवधिसम्म २७ वाणिज्य बैंकहरुले २९ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। यो हिसाबले नाफा १२.७० प्रतिशतले बढेको छ। 

दोस्रो त्रैमाससम्म कृषि विकास बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष सोही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म प्राइम, प्रभु, एसबिआई, सिटिजन्स, सनराइज र नेपाल बैंकको नाफा घटेको हो। यी बैंकहरुको क्रमशः १.२ प्रतिशत, ५.५६ प्रतिशत, २६.११ प्रतिशत, १७.०२ प्रतिशत, ३१.७ प्रतिशत र १२.२९ प्रतिशतले खुद नाफामा कमी आएको छ। 

दोस्रो त्रैमाससम्म रकमका हिसाबले सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको भने एनआईसी एसिया बैंकले पनि ३ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ। यस्तै ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्बभन्दामाथि नाफा गरेका छन्। 

त्यसैगरी अन्य बैंकहरुले भने २ अर्बभन्दा मुनि कमाएका छन्। सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल, सनराइज, सिटिजन्स र हिमालयन बैंक छन्। यी बैंकले क्रमशः ६३ करोड, ६५ करोड, ८४ करोड र ९५ करोड रुपैयाँ नाफा कमाएका हुन्। 

प्रतिशतका हिसाबले भने एभरेष्ट बैंकले धेरै नाफा बढाउन सफल भएको छ। गत वर्षको तुलनामा समीक्षा अवधिमा यो बैंकको नाफा ८८ प्रतिशत बढीले बढेको छ। 

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा पनि गत वर्षको यही अवधिसम्मको तुलनामा ६२ प्रतिशतले बढेको छ भने नबिल बैंकले ५६ प्रतिशतले नाफा बढाउन सफल भएको छ। 

२१ बैंकको एनपीएल बढ्दा १ को घट्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैजसो वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेको छ। जसमा २१ वटाको खराब कर्जा बढेको छ भने एउटा बैंकको मात्रै घटेको छ। 

पुस मसान्तसम्म आउँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु सबैको एनपीएल बढेको हो। जसमा सबैभन्दा धेरैभन्दा बढी कृषि विकास बैंकको ४.५२ प्रतिशत एनपीएल पुगेको छ। हिमालयन बैंकको पनि खराब कर्जा बढेर ३.७७ प्रतिशत पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगाको ३.७१ प्रतिशत, सनराइजको ३.३६ प्रतिशत, कुमारीको ३.१५ प्रतिशत र नेपाल बैंकको ३.११ प्रतिशत रहेको छ।

समीक्षा अवधिसम्म आइपुग्दा सबैभन्दा कम खराब कर्जा नेपाल एसबिआई बैंकमा रहेको छ। यस बैंकको खराब कर्जा अनुपात ०.४७ प्रतिशत रहेको छ।