काठमाण्डौ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन ६७ वटा उडान तालिका निर्धारण गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उडान तालिका निर्धारण गरेको हो। यो तालिकाबमोजिम विदेशमा रहेका नेपालीहरुलाई आजैबाट स्वदेश फर्काइनेछ।

मन्त्रालयद्वारा सार्वजनिक उडान तालिकाबमोजिम नेपाल वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडान भर्ने छन्। बाँकी उडान विदेशी एयरलायन्स कम्पनीहरुले नै भर्नेछन्। 

यही तालिकाअनुसार आज बिहीबार कुवेतबाट जजिरा एयरलायन्सले दुई उडानमार्फत ३०० नेपाली कामदार नेपाल पठाउँदैछ।

वायुसेवा निगमको वाइड बढी जहाजले भने जुन १४ मा ढाकाबाट नेपालीलाई स्वदेश ल्याउनेछ। त्यस्तै निगमको वाइड बढी जहाले जुन १५ माल्दिभ्सबाट नेपाली ल्याउनेछ भने न्यारो बडी जहाजले क्वालालमपुरबाट नेपाल फर्काउनेछ। 

यसैगरी हिमालयन एयरलायन्सले जुन १५ मै साउदी अरेयिबा, अम्बोडिया र सिंगापुरबाट दुई उडानबाट नेपाली फर्काउनेछ। यही दिन अन्य विदेशी एयरलायन्सहरुले भने मस्कट, ओमनलगायत अन्य देशबाट नेपाली ल्याउने तयारी भइरहेको मन्त्रालय स्रोत बताउँछ। 

जुन १६ मा निगमको जहाजले यूएई र कतारबाट तथा हिमालय एयरलायन्सले कुवेत र अन्य विदेशी एयरलायन्सले श्रीलंका र माल्दिभ्सबाट नेपालीहरुलाई ल्याउनेछन्। 

यसैगरी निगमको जहाजले जुन १७ मा अस्ट्रेलिया, थाइल्यान्ड र बहराइनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनेछ। हिमालय एयरलाइन्सले यही दिन बंगलादेश र कतारबाट तथा अन्य विदेशी एयरलायन्सले अरु गन्तव्यबाट नेपालीहरुलाई स्वदेश ल्याउने तालिका मन्त्रालयले सार्वजनिक गरेको छ। 

यसैगरी जुन १८, १९, २० र २१ मा राष्ट्रिय ध्वजावहाक विमानले क्रमशः साउदी अरेबिया, यूएई, जापान, कुवेत, साइप्रस, मलेसिया, कतार, दक्षिण कोरिया र ओमनबाट नेपाली कामदार फर्काउनेछ। हिमालयन एयरलायन्सले भने यही दिनहरुमा क्रमशः मलेसिया, ओमन, साउदी अरेबिया, नाइजेरिया, यूएई, बंगलादेश, कुवेत र मलेसियाबाट नपालीहरुलाई स्वदेश फर्काउनेछ। यही दिन अन्य विदेशी एयरलायन्समार्फत पनि नेपालीहरु स्वदेश फर्किने तालिका रहेको मन्त्रालयले जनाएको छ। 

यस्तै जुन २२, २३, २४ र २५ मा निगमको जहाजले क्रमशः अस्ट्रेलिया, थाइल्यान्ड, जापान, माल्दिभ्स, साउदी अरेबिया, कुवेत र अमेरिकाबाट नेपालीहरु स्वदेश फर्काउनेछ। यी दिन नेपालीहरु स्वदेश फिर्ता ल्याउने हिमालय एयरलायन्सले पाकिस्तान, कतार, युगान्डा, साइप्रस र इजरायलबाट नेपाली कामदार फर्काउनेछ। 

मन्त्रालयका अनुसार विदेशी एयरलायन्सहरुबाट हुने १६ उडानको निर्णय भइसकेको छैन। 

सरकारले विभिन्न ३० मुलुकबाट २४ हजार १४८ नेपाली फर्काउने तयारी गरेको हो। तर यो संख्यामा तलमाथि हुन सक्ने मन्त्रालयको भनाइ छ। 

यी उडानहरु जहाज कुल सिट क्षमताको ८५ प्रतिशत अकुपेन्सी भएपछि मात्र हुनेछन्। उडान भर्नुअघि नेपाल फर्किन चाहने नेपालीहरुको भने पीसीआर वा आरडीटी परीक्षण अनिवार्य गरिने मन्त्रालयले जनाएको छ।