काठमाण्डौ । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित नेपालीलाई हवाईयात्रामा विशेष छुट दिने भएको छ। 

निगमले आज एक सूचना जारी गर्दै क्यान्सरपीडित नेपालीलाई हवाईयात्रामा विशेष छुट दिने घोषणा गरेको हो। जसअनुसार क्यान्सरपीडित नेपाली पहिलोपटक निगमको जहाजमा यात्रा गर्दा सतप्रतिशत छुट पाउनेछन्। दोस्रोपटक ५० प्रतिशत र तेस्रोपटक २५ प्रतिशत छुट क्यान्सरपीडित बिरामीले पाउने निगमले जनाएको छ। 

योसँगै बिरामीका सहयोगीका रुपमा यात्रा गर्नेले पनि पहिलोपटक ५० प्रतिशत र दोस्रोपटक २५ प्रतिशत छुट पाउनेछन्। 

सामाजिक दायित्व निर्वाह गर्दै निगमले क्यान्सरपीडित बिरामीलाई विशेष छुटको व्यवस्था गरेको हो। 

छुट प्राप्त गर्नका लागि सेवाग्राहीले नेपाल अर्बुद रोग निवारण संस्थाको सक्कल सिफारिस र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।