काठमाण्डौ । डिजिटल मुद्रा बिटक्वाइन अहिले अन्य सरसामान खरिदबिक्रीमा पनि प्रयोग हुन थालेको छ। टेस्ला कम्पनी सीईओ एलन मस्कले पनि ‘टेस्लाको गाडीहरू खरिद गर्दा बिटक्वाइनले भुक्तानी गर्न सकिने’ बताएका छन्। 

टेस्लासँगै केएफसी, पिज्जा हट, टेको बेलजस्ता कम्पनीमा भुक्तानी गर्दा बिटक्वाइन प्रयोग गर्न सकिने भएको छ। पछिल्लो समय आलोचनाबीच बिटक्वाइन र अन्य क्रिप्टो करेन्सीहरुमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ।

यसबीच बर्कशायर हाथवेका सञ्चालक वारेन बफेट र चार्ली मंगरले बिटक्वाइनको निकै आलोचना गरेका छन्। वारेन बफेटले पनि बिटक्वाइन जोखिमपूर्ण रहेको बताउँदै आएका छन्। उनले बिटक्वाइनमा लगानी गर्न नहुने सुझाव लगानीकर्ताहरुलाई दिँदै आएका छन्। 

गत शनिबार बर्कशायरको वार्षिक साधारणसभामा मंगरले भने, ‘मलाई बिटक्वाइनको सफलता देख्दा घृष्णा हुन्छ।’

आतंककारीजस्ता व्यक्तिहरुका लागि उपयोगी हुन सक्ने बिटक्वाइनजस्ता क्रिप्टोहरुलाई स्वागत गर्न नसकिने पनि मंगरले बताए। ‘बिटक्वाइनको विकास निन्दनीय छ’, उनले भने, ‘यो मानव सभ्यताको हितविपरीत छ।’

गत महिना बिटक्वाइनको मूल्यमा निकै उतारचढाव देखियो। जसका कारण ६३ हजार डलरको उचाइमा पुगेको बिटक्वाइनको मूल्य झरेर ५० हजार डलरमा खुम्चिन पुगेको छ। 

बफेट र मंगरले भनेजस्तै बिटक्वाइन जोखिमपूर्ण नै त छैन भन्नेमा लगानीकर्ताहरु द्विविधामा पर्न थालेको देखिन्छ। – एजेन्सीको सहयोगमा