– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालमा खुलेका लघुवित्त वित्तीय संस्थामध्ये छिमेक लघुवित्त पनि एउटा हो। छिमेक लघुवित्तले एक थोक लघुवित्तका रुपमा कारोबार गर्छ। 

छिमेक लघुवित्तले सन् २००२ देखि महोत्तरी र चितवन  जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त कारोबार सुरु गरेको थियो। सुरुमा एनजीओका रुपमा काम गरेको यो संस्था पछि सन् २००२ जनवरी देखि नेपाल राष्ट्र बैंकबाट इजाजत लिई लघुवित्त क्षेत्रमा कार्यरत छ। 

छिमेक लघुवित्तमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ। छिमेकी लघुवित्तमा नेपाल बैंकको ८.३७ प्रतिशत, बैंक अफ काठमाण्डौको ८.३४ प्रतिशत, हिमालयन बैंकको ९.३ प्रतिशत, स्थानीयको १२ प्रतिशत र अन्यको ६१.६३ प्रतिशत लगानी रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार संस्थाको चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। कम्पनीको सेयर प्रिमियम ४ अर्ब ९ करोड रुपैयाँबराबरको छ। रिटेन अन अर्निङमा १ अर्ब ७ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ। 

संस्थाको वार्षिकीकृत ईपीएस ४२.८९ रुपैयाँ, पीई रेसियो २४.५५ गुणा, नेटवर्थ २०३.२६ रुपैयाँ र रिर्टन अन इक्विटी २१.१० प्रतिशत रहेको छ। 

दोस्रो त्रैमासमा संस्थाले २८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

छिमेक लघुवित्तको १० वर्षको औसत वार्षिक प्रतिफल ४३ प्रतिशत रहेको छ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विस्वाशिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए  हो। वेभ ए, बी र सीले  बजार तल जाने संकेत गर्छ। 

यो लघुवित्तले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा केही समय पहिला यो कम्पनीको सेयरमूल्य १६०० रुपैयाँ भन्दा माथि पुगेर इलिअट वेभको एउटा चक्र पूरा गरेर हाल ए, बी र सीअन्तर्गत सी वेभ बन्दै गरेको छ। हालको करेक्सन १०३३ रुपैयाँसम्म पनि आएर इन्टरमिडियट डिग्रीको एउटा चक्र पूरा भएको देखिन्छ। अब नयाँ चक्रअन्तर्गत अबको २ वर्षको समयावधिमा यस संस्थाको इलिअट वेभअन्तर्गत वेभ (१) मा १३०४ रुपैयाँसम्म, वेभ (२) अन्तर्गत करेक्सन भएर ११४० रुपैयाँसम्म, वेभ (३) मा पुनः बढोत्तरीका साथ लगभग १४६५ रुपैयाँसम्म, वेभ (४) मा फेरि करेक्सन भएर १३५० रुपैयाँ र वेभ (५) मा पुनः वृद्धिका साथ १७०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छन्। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि यो संस्थाको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा १४३४ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा १३२१ रुपैयाँमा, ०.५ प्रतिशतको टेवामा १२२६ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवामा ११३३ रुपैयाँ र ०.७८ प्रतिशतको टेवा १००० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइन

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने गत २९ मार्चमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल अझै भ्यालिड रहेको बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो संस्थाको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र रातो  क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा करेक्सन आएको बुझिन्छ। अन्तिम कारोबारले रातो लामो मारुबुजु बनाएकोले केही करेक्सनको सम्भावना देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यस संस्थाको हालको आरएसआई १५.३६ रहेको छ। अघिल्लोपटक यो न्यून  विन्दु १५ को तहमा पुगेपछि सेयरमूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७०.२९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा यो संस्थाको सेयरमूल्य ओभर सोल्ड जोनमा रहेको बुझिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १२८०
  • प्रतिरोध २– १३५०  
  • प्रतिरोध ३– १३९५

पिभट प्वइन्ट :  १२३५

घटेमा सपोर्ट 

  • सपोर्ट १– १२८०
  • सपोर्ट २– १३५०
  • सपोर्ट ३– १३९५

निष्कर्ष

यो लघुवित्तलाई विभिन्न प्राविधिक औजारमार्फत हेर्दा आरएसआईमा ओभरसोल्ड जोन १५ मा पुगेको देखिन्छ। बोलिंगर ब्यान्ड र एमएसीडीमा पनि बिक्रीकर्ता हावी भएको देखिन्छ भने एमएसीडीअन्तर्गत हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा हुँदै गएका छन्। भोलुमअन्तर्गत हेर्दा न्यून विन्दुमा उच्च भोलुमको कारोबार हुृनाले सेयरको मूल्य अब घट्न रोकिएको पनि बुझ्न सकिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।