– अर्जुन तिमिल्सिना

काठमाण्डौ । हालै एक लगानीकर्ता भोलाप्रसाद डोटेललाई सम्बन्धित ब्रोकर कम्पनीले क्लोजआउटबापत रु. ८० हजार रुपैयाँ तिर्न भन्यो। उनले नेपाल लाइफ, नेपाल पुनर्बीमा कम्पनी र जानकी फाइनान्स सेयर बेचे। तर, उनले भुलवश फेरि तिनै कम्पनीको सेयर (जुन खातामा छैन) पुनः बेचे। यसरी आफ्नो खातामा नभएको सेयर बेच्दा उनी क्लोजआउटमा परे।

डोटेल अन्जानमा आफूले ती कम्पनीहरुको सेयर टीएमएसमार्फत बेचेको बताउँछन्। ‘ब्रोकरले ८० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेको छ’, उनले भने, ‘प्रणालीले धोका दिँदा म मर्कामा परेँ।’ 

त्यसो त क्लोजआउटमा पर्ने डोटेल एक्ला भने होइनन्। उनीजस्ता थुप्रै लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन्। 

नेपालको सेयर बजारमा सेयर बेचेको भोलिपल्ट ३ बजेसम्म ईडीआईएस गर्नुपर्छ। यदि तोकिएको समयभित्र ईडीआईएस नगरेमा क्लोजआउटको जरिवना लाग्ने गर्छ। 

अर्कोतर्फ खातामा भएको भन्दा बढी सेयर बेचिएको अवस्था अथवा आफूसँग हुुँदै नभएको सेयर बेचेमा बिक्रीकर्तालाई नेपालको धितोपत्र ऐनअन्तर्गत २० प्रतिशत जरिवना लगाइने गरिन्छ। अन्तर्राष्ट्रिय सेयर बजारमा यस्तो अभ्यास छैन। नेपालमा भने आफूसँग भएभन्दा बढी बेचेमा अथवा बेचेपछि बिक्रीकर्ताले सेयर हस्तान्तरण गर्न अनाकानी गरेको खण्डमा यस्तो जरिवना लगाइने गरिन्छ। 

सामान्यतया क्लोजआउटमा पर्ने समस्या लगानीकर्ता तथा हालको टीएमएस दुवैको गल्तीले हुने गरेको देखिन्छ। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली पनि हालको क्लोजआउटको व्यवस्था अवैज्ञानिक भएको बताउँछन् । ‘गल्तीले भएको यस्तो करोबार अक्सन मार्केटमार्फत सेयर खरिद गरेर दिन पनि सकिन्छ’, उनले भने, ‘कानुनमा यो व्यवस्था भए पनि नियमाक निकाय यस्तो गर्न चुकेको छ।’

अक्सन मार्केटको व्यवस्था गरेमा दोस्रो बजारबाट सेयर किनेर पनि हस्तान्तरण गर्न सकिने मैनालीको तर्क छ। 

नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकरले क्लोजआउटको समस्या बढ्नुको मुख्य कारण टीएमएसमा रहेका त्रुटि नै रहेको बताउँछन्। ‘यदि तपाइँको खातामा २० हजार रुपैयाँ छ, एकपटक एटीएमबाट निकाल्नुभयो । फेरि जाँदा पनि एटीएम मेसिनले २० हजार रुपैयाँ दिन्छ भने त्यो सिस्टमको त्रुटि हो’, उदाहरण दिँदै ती ब्रोकरले भने, ‘यहाँनेर अहिलेको वाइको कम्पनीको टीएमएसमा गम्भीर त्रुटि नै छ।’