काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विकास बैंकहरुलाई समेत उपयुक्त मर्जर पार्टनर खोजेर सात दिनभित्र नेपाल राष्ट्रबैंकमा लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ । 

बिहीबार होटल याक एण्ड यतिमा दिउँसो १ बजेदेखि बोलाइएको छलफलमा राष्ट्रबैंकका अधिकारीहरुले यस्तो निर्देशन दिएका हुन् । 

‘सात दिनभित्र उपयुक्त मर्जर पार्टनर खोजेर आउनू भन्ने निर्देशन आएको छ ।’ छलफलमा सहभागी एक विकास बैंकका सीइओले बिजशालासँग भने–‘साथमा मर्जरका लागि चाहिने सुविधाको विषयमा समेत सुझाउन भनिएको छ । मर्जरका लागि आवश्यक सुविधाहरुलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने केन्द्रीय बैंकको प्रतिबद्धता छ ।’

राष्ट्रबैंकले विकास बैंकहरुभन्दा अगाडि वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुलाई बोलाएर ७ दिनभित्रमै मर्जर पार्टनरसहितको लिखित प्रतिबद्धता पेश गर्न भनेको थियो । विकास बैंकका अध्यक्ष र सीइओलाई समेत वाणिज्य बैंकलाई झै निर्देशन दिइएको हो । 

छलफलको क्रममा विकास बैंकका सीइओ तथा अध्यक्षहरुले केही वर्षअघि मात्रै ८६ वटाको हाराहारीमा रहेका विकास बैंकको संख्या घटेर २५ मा सीमित भइसकेको र राष्ट्रिय स्तरका विकास बैंकको संख्या १० वटा मात्र रहेकोले संख्याको मापदण्डको विषयमा समेत राष्ट्रबैंकले स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेका थिए । 

‘देशका लागि चाहिएको विकास बैंकको संख्या कति हो भन्ने कुरा केन्द्रीय बैंकले स्पष्ट पार्नुपर्छ ।’ छलफलमा सहभागी एक सीइओलाई उद्धृत गर्दै स्रोतले भन्यो  । 

कतिपय सीइओहरुले बिग मर्जरको परिभाषा के हो भनी राष्ट्रबैंकलाई प्रश्न समेत गरेका थिए । ‘बिग मर्जरको भनेको हो ? यसको परिभाषा के हो ? कस्तोलाई बिग मर्जर भन्ने ? संस्था धेरै भएर बिग मर्जर हुने हो कि वा पूँजी बढी भएको मर्जरलाई बिग मर्जर भन्ने ?’–ती सीइओको प्रश्नलाई उद्धृत स्रोतले भन्यो ।

राष्ट्रबैंकका अधिकारीहरुले वित्तीय स्थायीत्वका लागि, संचालन खर्च घटाउन, सुशासन कायम गर्न समेत मर्जरमा जान आवश्यक रहेको र बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनु सान्दर्भिक देखिएको जिकिर गरेका थिए ।