काठमाण्डौ । समान बोनस सेयर प्रस्ताव गरेका विजय लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरमूल्यमा आइतबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समान १५/१५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेका दुवै लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार विजय लघुवित्तको प्रतिकित्ता ६२३.४८ रुपैयाँ र नेरुडे लघुवित्तको ४८६.०९ रुपैयाँ कायम गरेको छ ।

अब समायोजित मूल्यअनुसार दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछ ।

यसैगरी नेरुडेले पुस २८ गते १३ औँ वार्षिक साधारणसभा उद्योग संगठन विराटनगरमा बोलाएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

विजय लघुवित्तले पुस २९ गते संस्थाको सातौं वार्षिक साधारणसभा नवलपरासीको गैंडाकोटस्थित फेमेली जक्सन क्याफे एण्ड क्याटेरिङ्ग सेन्टरमाम गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। सभामा चुक्ता पूँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा २२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ ।