काठमाण्डौ । खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई मूर्त रुप दिन विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डाकेको छ। 

हिजो मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो फागुन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभाले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन अनुमोदन गर्नेछ। प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात पनि सभाले पारित गर्नेछ। 

प्राप्ति गर्ने कार्य सम्पन्न भएपछि हुने अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, सेयर संरचनाबमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा छलफल गरी अनुमोदन हुनेछ।

प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरेबमोजिम विवरण उपलब्ध गराउनेलगायतका कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले आउँदो फागुन ७ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।