काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्दा दुर्गम तथा वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकता दिनुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचाबमोजिमको अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमका लागि स्रोतव्यक्ति तयार गर्न बैंकका कर्मचारीलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिने मार्गदर्शनमा उल्लेख छ। संस्थाले नियमित रुपमा विभिन्न माध्यमबाट लक्षित वर्गअनुरुप वित्तीय साक्षरतासम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्नुपर्नेछ। यसका साथै, खाता खोल्ने, बैंक खातामा बचत गर्ने, रकम झिक्ने, रकमान्तर गर्नेजस्ता आधारभूत कृयाकलापको प्रयोगाात्मक शिक्षा दिने व्यवस्था मिलाउनुपर्नेछ।

मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता सम्बन्धी आवधिक कार्ययोजना तयार गर्दा हरेक लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार परिवर्तनका लागि सैद्धान्तिक एवं व्यवहारिक पक्षहरुलाई समेट्नुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय साक्षरता कार्यक्रमको लक्ष्य, विषय, विधि तथा माध्यमको छनौट गर्दा अधिकतम्लक्षित वर्ग समेटिने गरी गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाहरूले व्याज अनुदान प्राप्त हुने बिभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा, आधुनिक प्रविधिमा आधारित भूक्तानी सेवाहरू, वित्तीय सेवा प्रवाह सम्बन्धी गुनासो सुनुवाई एवं व्यवस्थापन प्रणालीको बारेमा सर्बसाधारणले सहजै बुझ्ने र सूचना पाउन सक्ने गरी आवश्यक संयन्त्रको विकास गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। 

बैंक तथा वित्तीय संस्थाहरुले तयार पारेका वित्तीय साक्षरता कार्ययोजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित मूल्यांकन तथा रिपोर्टिङका लागि संस्थाले पूर्ण प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ।

मार्गदर्शनअनुसार बैंक तथा वित्तीयसंस्थाले वित्तीय साक्षरतासम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्रान्डिङ गर्ने, व्यापारिक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्ने छ।