काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचक स्थिर देखिएको छ । 

कारोबार रकम अघिल्लो दिनकै हाराहारीमा रहँदा बजारमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट र लाभांश घोषणाको प्रभाव समेत देखियो । 

दुई दशकपछि बल्लतल्ल लाभांश घोषणा गरेको नेपाल बैंकमा लगानीकर्ता झुम्मिए । यहीकारण ३५ करोड बढी कारोबार भएको बजारमा नेपाल बैंकको मात्रै ८ करोड बढीको सेयर कारोबार भयो । 

नेप्से परिसूचक ०.२४ को झिनो अंकले झरे पनि विभिन्न समूहका उपसूचकमा हरियोकै बोलावाला रह्यो । 

यो दिन बैंकिङ समूह ०.१ अंकले बढ्यो भने व्यापार समूहमा ३१.८३ अंक, होटल समूहमा २.१३ अंक, विकास बैंक समूहमा ०.०८ अंक, बित्त समूहमा २.३९ अंक र निर्जीवन बिमा समूहमा १८.५१ अंकको बढोत्तरी भयो । 

जलविद्युत समूह ५.८९ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ३८.९१ अंक, अन्य समूहमा ०.३४ अंक र म्युचुअल फण्ड समूहमा ०.०४ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता सेयर ३५ करोड ६८ लाख ६१ हजार ८५७ रुपैयाँमा किनबेच भयो ।

सबैभन्दा बढी नेपाल बैंकले ८ करोड ३९ लाख बढीको कारोबार गर्यो भने एनएमबी बैंकले ३ करोड ६८ लाख बढीको कारोबार गर्यो । 

प्राइम कमर्सियल बैंकको २ करोड ६४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा कृषि विकास बैंकले २ करोड १६ लाख, शिवम सिमेन्टले २ करोड ५ लाख, नवील बंैकले १ करोड ७७ लाख, एनआइसी एशियाले १ करोड ४० लाख, प्राइम बैंकले ५९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ५८ लाख र प्रभू बैंकले पनि ५८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि अघिल्लो दिन झै साल्ट ट्रेडिङको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

घोडाघोडी लघुवित्तको सेयर मूल्यमा पनि अघिल्लो दिन झै १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । 

युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्य ५.४० प्रतिशतले घट्यो ।